
बजेट आउनु भन्दा कार्यान्वयन हुनु ठूलो कुरा
विभिन्न समयमा गोरखामा उल्लेख्य बजेट नआएका होइनन् । विशेषगरी डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री र हिसिला यमी भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गोरखाका लागि यथेष्ट बजेट आएको थियो । त्यसबेला त्यसबापत दुवै मन्त्रहरुले आलोचना खेप्नु परेको थियो । त्यसपछि उनी प्रधानमन्त्री हुँदा पनि गोरखामा आएको बजेटलाई उल्लेखनीय मान्नैपर्छ ।
प्रदेश सरकारको कुरा गर्ने हो भने भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत हुँदा पनि गोरखामा आएको बजेट तथा कार्यक्रमलाई गोरखाली सर्वसाधारणले मुक्तकण्ठले प्रसंसा गरेका थिए । अहिले प्रधानमन्त्री, मुख्यमन्त्री गोरखाकै भएपछि अथाह बजेट तथा कार्यक्रम आउने पूर्वानुमान थियो । पूर्वानुमान केही हदसम्म मिलेको पनि छ । यदि भ्रष्टाचार भएन भने, यो बजेटको सही सदुपयोग भयो भने जिल्लाको विकास निर्माणको काम उल्लेखनीय नै हुने आशा, अपेक्षा लिन सकिन्छ ।
संघ सरकारले सार्वजनिक गरेको रेडबुकमा गोरखाको सडकका लागि मात्र करिब ९९ करोड विनियोजन भएको छ । ‘एक हातसे देना, एक हातसे लेना’ भएन भने, साइनिङ, पिसीलाई अधिकार सम्झेनन् भने यो रकमले गोरखाको विकासमा ठूलै कोषेढुंगा सावित हुनेछ ।
विशेष गरी आगामि आर्थिकबर्ष २०८०÷०८१ मा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट कार्यान्वयन गर्ने गरी सो बजेट तथा कार्यक्रम प्राप्त भएको सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै रकम बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तरगत परेको छ ।
सो शीर्षकमा ५४ करोड ६० लाख रकम प्राप्त भएको छ । त्यस्तै बारपाक सडकका लागि २३ करोड ८४ लाख र बेनिघाट आरुघाट लार्के सडकका लागि १५ करोड रकम विनियोजन भएको छ । स्थानीय सडक पुल अन्तरगत २ करोड २७ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २ करोड र रणनीतिक सडक पुल अन्तरगत १ करोड २ लाख रकम विनियोजन भएको सो योजना कार्यालयले जनाएको छ ।
बजेट आउनु सुखद यसै भइहाल्यो, अब यसलाई सदुपयोग गर्नु झनै ठूलो जिम्मेवारी छ ।




