
आफ्नो थर लुकाउने होइन, उजार गरौँ
गोरखामा धेरै अल्पसंख्यक जातीय समुदाय छन् । बारपाक सुलीकोटको ताकुलाई उद्गम मान्ने बराम समुदाय पनि यहाँ छ । चुमनुब्री गाउँपालिकामा मात्र बसोबास गर्ने चुम्बानुब्री जातीय समुदाय पनि गोरखामा छन् । त्यस्तै नाथ संप्रदायसंग संवद्ध कमर(योगी) समुदाय पनि गोरखामा छन् ।
अल्पसंख्यक तर नेपालका अन्य जिल्लामा भन्दा धेरै बसोबास रहेको घले, जम्मा एक घरमात्र बसोबास रहेको कुसुण्डा, दराई, वादी, माझी जाती पनि गोरखामा छन् ।
थोरै संख्यामा रहेका यीमध्य कतिपय थर भएकाहरुले आफ्नो थर भन्न, लेख्न पनि लुकाउने गर्छन् ।
यसै अल्पसंख्यक छन्, त्यहाँमाथि कतै उल्लेख गर्नु परेका बेला पनि आफ्नो थरलाई नखुलाउने गरेका धेरै घटनाहरु छन् ।
अल्पसंख्यक भएकाले कतिपय मुलुकले पहिचान नगरेका थरहरु पनि छन् । उनीहरुले आफ्नो बास्तविक थर लुकाएर धेरै चलेका अन्य थर लेखेर जागिर खाने, विदेशी आर्मीहरुमा भर्ना हुँदा पनि थर फेरेर अर्कै थर राख्ने दुश्साहस गरेका हुन्छन् ।
अल्पसंख्या भएकाले यसै पनि पहिचानमा समस्या छ, जतिसक्दो आफ्नो थरलाई उजागर गरी स्थापित गर्न पहल गर्नुपर्नेमा आफ्नो बास्तविक थर भन्न, लेख्न नचाहेर लुकाउने वा आफ्नो नाममा अर्काको थर जोड्ने महान गल्ती गरिरहेको पाइन्छ ।
यो उनीहरुको दोष मात्र भन्दा पनि चेतनाको अभावका कारण पनि हुनसक्छ ।
त्यसैले आदिवासी, जनजातिका छाता संस्थाहरुले यस्ता थरहरुलाई स्थापित गर्न प्रयास गर्ने, आफ्नो थर लुकाउने होइन, सक्दो उजागर गर्नुपर्छ भनेर जनचेतना जगाउनु जरुरी देखियो । त्यस्तै आफ्नो थरबारे बाहिर बताउँदा लज्जा होइन, गौरवको अनुभूति गर्नुपर्छ भन्ने बारेमा पनि विभिन्न जातजाति, भाषाभाषीहरुलाई सशक्तिकरण गर्नुपर्छ । यसले उनीहरुमा क्षयीकरण हुनबाट केही हदसम्म पनि मद्दत पुग्छ ।




