| सोमवार, कार्तिक २३, २०८३

पालिकामा जनप्रतिनिधिको रजगज

केही उटपट्याङ र उत्ताउलोपनलाई छाड्ने हो भने अहिले देशमा मेयरका रुपमा हर्क साम्पाङ र बालेन साहले गरेको कामको जति प्रसंसा गरेपनि कमै हुन्छ । उनीहरुले आफूलाई शासक ठानेको देखिँदैन ।

एकजना मेयरले श्रमदान गरेर कामदारलाई हौस्याउने गर्छन् । उनले गरेको काम देखावटी र सामाजिक सञ्जालमा भाइरल बन्ने उद्देश्यले मात्र नभै परिणाम देखिने खालकै थियो भन्ने कुरा त प्रमाणित भयो ।

बालेनले राजधानी समेत रहेको काठमाडौँ महनगरमा कठोर बनेर गरेका केही कामको पनि तत्कालका लागि आलोच्य भएपनि अहिले सुन्दर परिणाम देखिन सुरु गरेको छ । उनका कतिपय कठोर, कटु तर निकै प्रसंसनीय काम(निर्णय) गरेका छन् ।
तर हाम्रो गोरखाका पालिका प्रमुखहरुको काम कस्तो रह्यो भन्ने बारे हरेक बर्ष प्रकाशित हुने महालेखा नियन्त्रकको प्रतिवेदन हेरे पुग्छ । त्यो हेर्दा लाग्छ, पालिका प्रमुख, उपप्रमुख तथा अन्य पदाधिकारीका लागि पालिका दुहुनु गाई हो । आफूलाई मात्र नभै उनीहरु बेरोकतोक आसेपासेलाईसमेत पुग्ने गरी पालिकाको भण्डारमा डाडुपन्यू चलाउन खप्पिस छन् ।

राणा, पञ्चको भ्रष्टाचारको छेउटुप्पो फेला पार्न सकिँदैन, किनभने त्यसबारे खोज्ने र बोल्ने वातावरण नै थिएन । सक्किगो । २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका पुराना पार्टीहरु त्यतिबेलादेखि अहिलेसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । तर २०६२÷०६३ को राजनीतक परिवर्तनपछि सतहमा आएका नयाँ पार्टीहरु पनि पुराना पार्टीको दशकौंको भ्रष्टाचारलाई एकै बर्षमा समतुल्य हुने गरी भ्रष्टाचारमा लिप्त छन् । जुन पार्टी भ्रष्टाचारको विरोध गर्दै जन्मिएको हो, उ पनि पुराना पार्टीलेचाहिँ गर्न हुने, हामीलेचाहिँ नहुने ? भन्ने विचार र सिद्धान्तको पछि कुद्छन् र दशकौंदेखि गरेको भ्रष्टाचारलाई एकाध बर्षमै उछिन्छन् ।

पालिकाको ढुकुटीमा जनप्रतिनिधि बनेर पसेकाहरुको प्रवृत्ति र गतिविधि देखेर यो देश राम्ररी बन्ने बाटोमा जाला भनेर अनुमान गर्न सक्ने आधार छैन ।

प्रतिक्रिया दिनुहोस्