| सोमवार, कार्तिक २३, २०८३

कार्यान्वयन होला त चुमनुब्री र धार्चेमा विशेष क्षेत्र कार्यक्रम ?

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र मनाङको नार्पाभूमि गाउँपालिकालाई विशेष क्षेत्र बनाउन पहल गर्ने एजेण्डा पास भएको छ । आइतबार सम्पन्न पालिकाको नीति तथा कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यी तीन गाउँपालिकालाई त्यहाँ बसोबास गर्ने समुदायको विशेष क्षेत्र बनाउने नीति तथा कार्यक्रम पेश गरेका थिए ।

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाले आफूहरुलाई अलग्गै जिल्ला माग गर्दै प्रधानमन्त्री, राष्ट्रपति, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्यसंग माग गरिरहेका छन् । चुनाबी कार्यक्रममा सहभागी हुन आउँदा पनि नेताहरुका माझ आफूहरुलाई छुट्टै जिल्ला बनाइदिन माग गरेका थिए ।

स्थानीयको माग जायज छ कि छैन, अलग्गै जिल्ला बनाउन अहिले सम्भावना कस्तो छ भन्ने बारे जानकारी छैन । विशेष क्षेत्र पनि घोषणा गर्न मिल्छ कि मिल्दैन ? यसअघि देशका अन्य भूभागलाई विशेष क्षेत्र घोषणा गरेको नजर छ कि छैन यी सबैको अध्ययन गर्नुपर्छ । यसअघि अन्य जिल्लामा विशेष क्षेत्र घोषणा नगरेको भए गोरखाबाटै सुरु गर्दा पनि नयाँ कामको आरम्भ हुनेछ । आवश्यकता हेरी अन्य जिल्लामा पनि घोषणा गर्न सकिनेछ ।

बास्तवमा धार्चे र चुमनुब्री दुई पालिकाको जनसंख्या र भूगोल मनाङ लगायतका जिल्ला भन्दा ठूलो साइजको बन्नेछ । मनाङलाई नै नजिर बनाउने हो भने त यी दुई पालिका गाभेर छुट्टै जिल्ला बनाउन पनि सकिन्छ ।

छुट्टै जिल्ला घोषणा अहिलेका लागि सम्भव नभए पनि विशेष क्षेत्र घोषणा गरेर सोही अनुसार कार्यक्रम अघि बढाउन सके उत्तम हुने थियो ।
चुमनुब्रीमा ९० प्रतिशत नै चुम्बा र नुब्री छन् । धार्चेमा पनि झण्डै ७५ प्रतिशत गुरुङ समुदायको बसोबास छ । उनीहरुकै नामबाट विशेष क्षेत्र घोषणा गरेर कार्यक्रम लागु गरे, धेरै राम्रो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्