
उत्तरी गोरखाका लागि बरदान सावित ‘कादुरी’
कुनै एनजिओ, आइएनजीओले आफ्नो स्वार्थ केन्द्रमा राखेर काम गर्छन्, कुनैले विशुद्ध जनसेवाका लागि काम गर्छन् । उनीहरुको कार्यशैली छामेर स्थानीयबासीले पत्ता लगाउन सक्छन्, कुन गाउँलेका लागि आएका हुन्, कुन आफ्नै लागि आएका हुन् ।
उत्तरी गोरखामा(कतिपय दक्षिणी गोरखामा पनि) बिगत लामो समयदेखि कार्यरत कादुरी एक यस्तो संस्था हो, जसले आजसम्म गाउँलेकै लागि धेरै ठूलो गुन लगाएर काम गरिरहेको छ । चुमनुब्रीका हरेक गाउँ उज्यालो बनाउने कादुरीले खानेपानी, पुल लगायतका अत्यावश्यकीय काम गरिरहेको छ ।
दुर्गममा काम गर्ने कतिपय संस्थाहरुले आफूलाई धेरै माथि, सरकारभन्दा पनि माथि ठान्ने प्रवृत्ति छ । तर कादुरी संस्थाको बिगत २५ बर्षको कार्यशैली अध्ययन गर्दा यस्तो देखियो, उसले स्थानीयबासीको मन जित्यो । स्थानीयबासीले सो संस्थालाई उज्यालो दिने संस्थाको रुपमा लिने गरेका छन् ।
जहाँ अप्ठेरो परेको छ, त्यहाँ सघाउने संस्थाका रुपमा नाम लिने गरेका छन् ।
सो संस्थाले दुर्गम गाउँका विभिन्न २० ठाउँमा झण्डै ८० करोड खर्च गरेर विद्युत उत्पादन गरी छ हजार पाँचसय ८२ घरधुरीमा विजुली बत्ती बालेको छ । त्यहाँका ३३ हजार आठसय २९ जनाले विजुली बत्तीबाट लाभ लिन पाए । तथापि कादुरीले आफूलाई कहिल्यै सर्वेसर्वा ठानेन ।
दुई दशक भन्दा लामो समयदेखि जनमन जित्ने काम गर्दा पनि आफूलाई सरकार भन्दा ठूलो कहिल्यै ठानेन । र त्यस क्षेत्रका बासिन्दाले कादुरीलाई दुर्गमको उज्यालोको सारथी संस्थाका रुपमा नाम पुकार्छन् ।
हालै तिब्बतको सीमा क्षेत्रमा रहेको नेपालको अन्तिम गाउँ छुलेमा झोलुंगे पुल निर्माण गरेको छ । जुन ठाउँमा बर्षेनी काठेपुल बनाउने, बर्सेनी खोलाले बगाउने गर्दा स्थानीयबासी हैरान थिए । त्यहाँ झोलुंगे पुल निर्माण गरेर कादुरीले फेरि एकपटक अबिस्मरणीय गुन लगाएको छ । त्यसैले कादुरी दुर्गमबासीका लागि बरदान सावित भएको छ ।




