
गोरखकाली मन्दिरमा भक्तजनलाई सास्ती कहिलेसम्म ?
पटक पटक म्याद थप गर्दागर्दा बल्लतल्ल गोरखा दरबारको जीर्णोद्वार गरिएको थियो । गोरखा दरबार पुनर्निर्माण सम्पन्न भएलगत्तै गोरखकाली मन्दिरको पनि प्रबलीकरण(रेट्रोफिटिङ) सुरु गरिएको हो । तर सो मन्दिरको निर्माण कार्य कछुवा गतिमा छ ।
प्रसिद्ध मन्दिरको जीर्णोद्वार निर्माण कम्पनी एस÷आरआर जेभी कम्पनीले गोरखकाली मन्दिर जीर्णोद्वारको काम अलपत्र पारेको हो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखकाली मन्दिर प्रवलिकरण गर्न २०७८ साल साउन १५ गते सो कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ साल असार १५ गते काम सक्नुपर्ने थियो । निर्धारित समयमा निर्धारित काम सम्पन्न नभएपछि पुरातत्व बिभागले चैत्र मसान्तसम्म म्याद थप गरेको थियो । थप भएको समय गुज्रिसक्दा पनि काम भने अझै १० प्रतिशत भन्दा धेरै बाँकी रहेको छ ।
ठेकेदारको लापरवाहीका कारण पटक पटक थप भएको समयमा पनि काम सम्पन्न हुन नसकेको हो ।
जीर्ण रहेको साविकको मन्दिर प्रवलीकरण गर्न थालेपछि कालिकाको पूजा भने गोरखा दरबारभित्र गर्ने गरिएको छ । तर बडा दशैँ र चैते दशैँको समयमा भक्तजनलाई साविकको कालिका मन्दिरमै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । अष्टमीहरुमा भक्तजनको भीड थेग्न सकिन्न ।
अरु काम रोकेर भएपनि त्यो बेला कालिका अड्डाले मन्दिरमै पूजाआजा गर्ने व्यवस्था मिलाउदै आएको छ । घरि यता, घरि उता गर्न व्यवस्थापक तथा भक्तजनहरुलाई कम्ती सकसपूर्ण छैन ।
एक करोड ९५ लाख रुपैयाँ लागतमा कालिका मन्दिर प्रवलिकरणको काम सुरु भएको हो ।
पुरातत्व विभागले काम नगर्ने ठेकेदारलाई ताकेता गरिरहोस् । भक्तजनलाई थप सास्ती नदिने गरी रेट्रोफिटिङ गर्ने कार्य छिटो छिटो गतिमा गरियोस् ।




