
दाता जुटाउँदै गाउँ विकास गर्दै
विकास निर्माणको काममा सरकारको मुख मात्र ताक्ने हाम्रो परम्परा छ । यतिसम्म कि, कुनै संरचना कुनै कार्यालयले निर्माण गरेको छ भने त्यो संरचनाको नामै ‘उसको’ भनेर राखिदिने परम्परा छ ।
त्यो हाम्रो हो भनेर अपनत्व नलिने, ‘भूकम्पको घर’, ‘कादुरीको पुल’ ‘सिआरएसको भवन’, ‘केयर नेपालको खानेपानी’, ‘सेभ द चिल्डूेनको स्कूल’ आदि ।
संरचनामा अपनत्व भयो भने माया हुन्छ, संरक्षण हुन्छ अनि दीगो हुन्छ । तर आफ्नो खाँचोले निर्माण भएको नभन्ठानेर दाताको कर्तव्य हो भन्ने रुपमा सोच्ने बानी परेको छ ।
तर धार्चेका केही व्यक्तिहरु देशी, विदेशी दातासंग सम्पर्क गर्दै रकम जुटाउँदै गाउँको विकास गर्ने गर्छन् ।
यसरी विदेशी दाता खोज्दै गाउँको विकास गर्नेमा सुनार गुरुङको नाम अग्रस्थानमा आउँछ । त्यस्तै रामबहादुर गुरुङ(सुके), गणेश गुरुङ आदिले आफ्नो कार्यालयमार्फत नेपाल भ्रमणमा आएका विदेशीसित अनेक अनुनय, विनय गरी योजना माग गर्ने गर्छन् ।
विशेषगरी सुनार गुरुङले गणेश हिमाल फाउण्डेशन गठन गरी विकास निर्माणको काम गरेका छन् । त्यस्तै रामबहादुर गुरुङ (सुके) यात्रा हिमालय नामक संस्था गठन गरी विकास निर्माणको काम गरेका छन् । गणेश गुरुङले माहिली एशोसिएशन गठन गरी पूर्वाधार निर्माणको काममा लागि परेका छन् ।
गणेश हिमाल फाउण्डेशनले विशेषगरी शिक्षा क्षेत्रमा, यात्रा हिमालयले विशेषगरी खानेपानीको क्षेत्रमा र माहिली एशोसिएशनले स्वास्थ्य क्षेत्रमा जोड गरिरहेका छन् । गाउँको समस्या समाधान गर्न पहल गर्ने उनीहरु सम्मानका पात्र छन् ।
यसबाट पाठ सिकेर अरु गाउँका बासिन्दा, जो ठूलो ओहोदामा पुगेका छन्, उनीहरुले पनि दाता जुटाएर गाउँको विकासमा होस्टेमा हैसे गर्नु श्रेयस्कर हुनेछ ।




