| मङ्लबार, कार्तिक २४, २०८३

सेनेटरी प्याडका लागी बिद्यालयलाई ‘भेन्डिङ मेसिन’ वितरण

छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उदेश्यले भीमसेन थापा गाउँपालिका भित्रका माध्यमिक तहका बिद्यालयलाई ‘भेन्डिङ मेसिन’ वितरण गरिएको छ । पालिकाभित्र रहेका १२ वटा माविलाई शुक्रवार उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

सिक्का राखेर उक्त मेसिनबाट छात्राहरु आफैले प्याड निकाल्न सक्ने बताइएको छ । ‘बिद्यालयबाट निशुल्क सेनेटरी प्याड वितरण त भइरहेको छ, तर छात्राहरु शिक्षकसँग माग्न लाज मानेको देखियो’, गाउँपालिका उपाध्यक्ष अमृता भण्डारीले भनिन्, ‘त्यसैले मेसिन दिएका हौ, यो मेसिनमा सिक्का हालेर छात्रा आफैले प्याड निकाल्न सक्छन् ।’

प्रयोग भएको प्याड व्यवस्थापनका लागी ‘डिस्पोजेवल मेसिन’ समेत प्रदान गरिएको उनले जानकारी दिइन् । ‘प्रयोग भएको प्याड जथाभावी फाल्दा वातावरणमा असर पर्ने भएकाले त्यसको डिस्पोज गर्ने मेसिन पनि दिएका छौ, प्रयोग भएको प्याड त्यो मेसिनमा हालेपछि बिद्युतको माध्यमबाट आफै जलेर नष्ट हुन्छ,’ उनले भनिन् । उपाध्यक्ष बिशेष कार्यक्रम मार्फत उक्त मेसिनहरु वितरण गरिएको उनले जानकारी दिइन् ।

यता पालिकाको न्यायिक समितिले न्याय व्यवस्थापन प्रणालीलाई डिजिटलाइज गरेको छ । अनलाइन प्रणालीबाट सेवा प्रवाह समेत शुरु गरिएको न्यायिक समिति संयोजक एवं पालिका उपाध्यक्ष भण्डारीले बताइन् । अव अनलाइनबाटै उजुरी दर्ता गर्न सकिने र समिति मार्फत हुने न्याय व्यवस्थापन प्रणालीको सम्पूर्ण जानकारी अनलाइनबाटै हेर्न सकिने उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्