| सोमवार, कार्तिक २३, २०८३

के मनकामना मन्दिर र परिसर अब व्यवस्थित होला ?

भाकल बुझाउन पवित्र मन लिएर मनकामना पुग्दासम्म भक्तजनले धेरै ठाउँमा धैर्यताको, संयमताको, आत्माशान्तिको बाँध टुटाउनु पर्छ ।

केवलकार चढेको १५ मिनेटभित्र केही सङ्लिएको धैर्यता र संयमताको गाँठो फेरि केवलकारबाट मनकामनामा ओर्लेपछि फुस्कन सुरु हुन्छ । केवलकार क्षेत्रबाट जब व्यापारिक क्षेत्र सुरु हुन्छ, तब होटल तथा कोशेली घरका कर्मचारीहरु ग्राहक तान्न आउँछन् ।

मन्दिरमा पूजा गर्न गएका भक्तजनलाई उनीहरुले ग्राहक सम्झन्छन् । एकाग्र तनमन लगाएर मन्दिरतिर यात्रा गरिरहेका भक्तजनलाई ब्यापारीका कारिन्दाले प्रयोग गरेको कर्कश आवाजले हैरान बनाउँछ । ग्राहकको ध्यान खिच्न प्रयोग गरिएको भाषाले भक्तजनलाई उदेक बनाउँछ, पवित्र मनकामना क्षेत्रको शोभा घटाउँछ ।

केही महिनाअघि त्यहाँका होटल व्यवसायी र ग्राहक बीच भएको तनाबको समाचारले पनि मनकामना क्षेत्रलाई बदनाम गराएको थियो ।

यस्ता अप्रिय घटना बढ्न थालेपछि मनकामना मन्दिर रहेको सहिद लखन गाउँपालिकाको ध्यानाकर्षण भयो । जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भयो । त्यहाँका उद्योग वाणिज्य संघ, मनकामना क्षेत्र विकास समितिको पनि ध्यान आकर्षण भयो । त्यसपछि उनीहरुको गृहकार्य भयो र मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन निर्देशिका तयार भयो ।
मन्दिर र मन्दिर क्षेत्र व्यवस्थित बनाउन निर्देशिकामा धेरै कुरा उल्लेख छन् ।

यदि यो कार्यान्वयन भयो भने मनकामना मन्दिर आउने भक्तजनहरुले अब दिक्क मान्नु पर्दैन । अवाक हुनुपर्नेछैन । धार्मिक स्थल अब धार्मिक स्थलकै रङमा देखिने छ । धार्मिक स्थलकै स्वादमा भेटिने छ । अस्वस्थ प्रतिस्पर्धात्मक व्यापारिक स्थल बन्न पाउने छैन ।

निर्देशिकामा रहेका केही असजिला बुँदा संशोधन गर्न, केही थप्न आवश्यक बुँदाहरु आपसी समझदारीमा थप्न सकिनेछ । गाउँपालिकाको नेतृत्वमा रहेको संयन्त्रले यो निर्देशिकालाई दीगो कार्यान्वयनका लागि ध्यान दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्