| सोमवार, कार्तिक २३, २०८३

लाप्राकलाई आरोहीको गाउँ घोषणा गर

जब लाप्राकका इमानसिँङ गुरुङले सगरमाथा आरोहण गरे, त्यतिबेला उनको व्यक्तित्वको जहाँतहीँ चर्चा भयो । किनभने त्यतिबेला सगरमाथा आरोहण गर्नेको संख्या धेरै पनि थिएन । त्यसमाथि पनि खुम्बु क्षेत्रका मात्र आरोही हुने गर्थे । गैरखुम्बुले सगरमाथा आरोहण गरेको दुर्लभ व्यक्तिमध्य उनी थिए त्यसैले सर्बमान्य व्यक्तित्व बन्न सफल भए ।

उनको मार्गदर्शनपछि लाप्राकका तत्कालीन लक्का जवानहरु ट्रेकिङ तथा एक्स्पिडिशनतिर आकर्षित भए । पर्यटन व्यवसायमा लागेपछि राम्रै कमाइ हुन थाल्यो । त्यसपछि एकपछि अर्को गर्दै लाप्राकका धेरैजना गाइड, पोर्टर, पर्यटन कम्पनी सञ्चालक बन्न थाले ।

त्यतिले मात्र पुगेन, उनीहरु इमानको पदचाप पछ्याउँदै सगरमाथा आरोहण गर्नतर्फ जान थाले । अहिलेसम्म लाप्राकबाट सगरमाथा आरोहण गर्नेको संख्या आठ जना पुग्यो । अब उनीहरु पर्वतारोहण गाइड बनेर मनग्य पैसा कमाउन थालेका छन् । गराउने कार्यालय स्थापना गर्न थाले । अहिले लाप्राक, अलिअलि सिङ्ला, उहियाका बासिन्दाले पनि सगरमाथा आरोहण गर्न थालेका छन् ।

सोलुखुम्बुबाहिरका गाउँहरु मध्य सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने गाउँमा लाप्राक पनि पर्न सक्छ, त्यसको पुष्टिका लागि तथ्यांक संकलन गर्नुपर्छ । लाप्राकबाट सगरमाथा मात्र होइन, आठहजार मिटरभन्दा अग्लो मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी आदि हिमाल आरोहण गर्नेको संख्या त अझ धेरै हुनसक्छ ।

लाप्राकमा खुम्बु क्षेत्रका बाहेक देशकै अन्तभन्दा धेरै आरोहीहरु छन् । यो यथार्थलाई तथ्यगत विश्लेषण गरी आरोहीहरुको गाउँ संज्ञा दिनु उपयुक्त हुन्छ । यसले लाप्राकको र आसपासको पर्यटन विकासमा मद्दत पुग्छ । आरोहीहरुको गाउँ भनेर घोषणा गरिसकेपछि लाप्राकमा हिमाल आरोहण सम्बन्धी तालिम सञ्चालन गर्ने, पूर्वाधार निर्माण गर्ने गर्नुपर्छ । अनि लाप्राक मात्र होइन, जिल्लाकै गरिमा बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्