| सोमवार, कार्तिक २३, २०८३

गाउँठाउँका ‘मह उत्सव’लाई अझै प्रवद्र्धन गरौँ

नेपाल भ्रमणवर्ष भनेर पहिलोचोटी मनाएदेखि देशका विभिन्न जिल्लाहरुमा महोत्सव आयोजना गर्ने सिलसिलाको सुरुवात भएको हो । गोरखामा पनि पहिलो पटक सन् १९९८ अर्थात बिसं. २०५४ सालदेखि गोरखा महोत्सव सञ्चालन गर्न सुरु गरिएको हो ।

गोरखामै पनि मेला र महोत्सव पनि विभिन्न किसिमका भएका छन् । सुन्तला महोत्सव, दूध महोत्सव, दशैं सस्तो बजार मेला, रमाइलो मेला, अहिंसा महोत्सव इत्यादि ।

धार्चेमा बिगतदेखि नै मह शिकार उत्सव आयोजना भएको छ । दुईबर्षअघि पहिलो पटक र यसबर्ष धार्चे ३ खोर्लाको निम्रुङखोला मह–उत्सव आयोजना गरिएको हो । गाउँपालिका, वडा कार्यालयको सहयोगमा स्थानीयबासीले मह उत्सव मनाएका हुन् ।

अहिले खोर्ला र आसपासका गाउँबाट मात्र दर्शकहरु यहाँ आउँछन् । जनप्रतिनिधि र कर्मचारीहरु पनि यहाँ आउँछन् । अब यसको दायरा बढाएर धार्चेभरका सबै गाउँबाट तथा आरुघाट, चुमनुब्री गाउँपालिकाबाट समेत अवलोकनकर्ता आउने वातावरण बनाउनु पर्छ । त्यसपछि यस क्षेत्र हुँदै मनास्लु जाने विदेशी पर्यटक, आरुघाट बजार, गोरखा सदरमुकामबाट समेत भीरमौरीको मह शिकार गर्ने मेला अवलोकन गर्न आउने वातावरण बनाउनु पर्छ ।
यसका लागि असीम प्रचारप्रसार पनि गर्नुपर्छ ।

पर्यटकलाई महकाढ्ने मेलास्थलसम्म पुग्न सहज बनाउन स्थानीय सरकारले खोर्लाबेशीबाट निम्रुङखोलास्थित भीरमौरीको गोलासम्मको पदमार्गको स्तरोन्नति गर्नुपर्छ । त्यस्तै महसिकारीहरुका लागि डोरीलगायतका सुरक्षित उपकरणहरुको जोहो गर्नुपर्छ । साथै गाउँपालिकाकै सक्रियतामा यो मेलाको भरपुर प्रचारप्रसार गर्न सक्नुपर्छ ।

हल्लाबाजीकै भरमा कुनैकुनै ठाउँमा पर्यटन विकास भइरहेको पनि पाइन्छ । कुनै ठाउँमा विभिन्न पूर्वाधार तयार गरे पनि मनग्य पर्यटक भित्रिएको पाइँदैन । तथापि उपाय अपनाउन छाड्नु हुन्न । नयाँनयाँ तकनिकी अपनाएर देश, विदेशमा यो मह सिकारको प्रचार प्रसार गरी पर्यटकलाइृ भित्र्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्