| सोमवार, कार्तिक २३, २०८३

काम अलपत्र पार्ने ठेकेदारलाई संघले नै कारबाही गरोस्

जहाँतहीँ विकास निर्माणको काम ठेकेदारले अलपत्र पारेको कटु खबर सुन्नुपर्ने अबस्था छ । अस्वभाविक घटाघटमा ठेक्का हात पार्ने, प्रतिस्पर्धीहरुलाई कमिशन बाँडेर ठेक्का फाराम फिर्ता लिन लगाउने अनि अरुलाई पनि काम गर्न नदिने, आफूले पनि काम नगर्ने बिडम्बना हामीसामु छ ।

यही ठेकेदारको सिकार बनेको छ, मध्यपहाडी लोकमार्ग । आरुघाट–घ्याम्पेशाल खण्ड कालोपत्र गर्न नसकेर ठेकेदारले यात्रुलाई दुख दिइरहेको छ । घ्याम्पेशालबाट निबेल सडकको अबस्था उस्तै नाजुक छ । ठेकेदारको चरम लापार्बाहीले गर्दा दशकौँदेखि यी दुवै खण्ड अलपत्र परेका हुन् ।

फेरि अहिले काम सुरु गरेको मसानेठाँटी–ठाँटीपोखरी खण्ड पनि अलपत्र परेको छ । यसको कारण पनि ठेकेदारको लापार्बाही हो । बरु जिल्लाभित्रका सानो प्रोफाइलको फर्म भएका ठेकेदारले निर्धारित काम गरेका हुन्छन्, यद्यपि काम गरेपनि भुक्तानी नपाएर उनीहरु हैरान छन् । तर ठूला ठेकेदारहरुले दसकौंदेखि काम नगरी योजना अलपत्र पारिरहेका हुन्छन् ।

मसानेठाँटी–ठाँटीपोखरी सडकको १३ किलोमिटर खण्ड कालोपत्रेको जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनका ठेकेदार अहिले कार्यालयकै सम्पर्कमा छैनन् । सो योजनाको काम हालसम्म जम्मा २५ प्रतिशत मात्रै प्रगति भएको छ । कारवाही स्वरुप सो कम्पनीलाई कार्यालयले बैक ग्यारेन्टी जफत गरेको थियो ।

हारगुहार गर्दै निर्माण कम्पनीले उच्च अदालत पाटनमा निवेदन दियो । कारवाही नगर्न भन्दै अदालतले ‘स्टे अर्डर’ दिएपछि समस्या भएको छ । काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउँदा पनि अदालतले छेकबार गरेको छ ।

काम नगर्ने ठेकेदार निर्माण व्यवसायी संघकै लागि बदनाम गराउने तत्व हो,त्यसैले संघ, महासंघले त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन संघ, महासंघले सघाउनु पर्छ । काम नगर्नेलाई कारबाही गर्न सुरु गर्ने वित्तिकै अरु कम्पनीहरु पनि सजग र सचेत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्