
श्रम र पसिनाको मूल्य शोषण नगर
देशमा शोषण गरेर वा लुटेर खानेको संख्या बढिरहेको छ । गरेर खाने भन्दा बिचौलियाको बिगबिगी छ । न जागिर, न उद्योग व्यापार करोडौँ, अर्बौँ कमाउनेको रजगज छ । भ्रष्टाचार गरेर अदृश्य रुपमा कमाउनेहरुको चकचकी छ ।
एकातिर डर, धाक, धम्की, प्रलोभनमा पारेर सर्वसाधारणको मुखबुजो लाई अथाह कमाउनेहरु व्याप्त छन्, अर्कातिर घाम, पानी, हिलो, धुलो, नभनी हाडछाला घोटेर पनि हातमुख जोर्न धौधौ हुनेहरु पनि छन् ।
जसले श्रम गरिरहेको छ, रगत, पसिना बगाइरहेको छ, उसको अबस्था ज्युँको त्यूँ छ, तर जसको हाँकोडाँको ठूलो छ, खेलोफड्को धेरै छ, व्यवहारमा अनैतिकता, आचरणमा अमर्यादित, चरित्रमा निकृष्टता छ, बजारमा उसकै हालीमुहाली छ ।
समय यस्तै छ ।
यो वैशाखको धुपमा पनि भारी बोक्नेहरु छन्, खेतबारीमा खनजोत गर्नेहरु छन्, ढुंगा फुटाउनेहरु छन्, बालुवा चाल्नेहरु छन् । तर उनीहरुले गरेको श्रमको मूल्य नपाएको अबस्था छ । यो अबस्था जहाँतहीँको हो ।
धार्चेका विभिन्न ठाउँहरुमा विकास निर्माणको काम गर्ने श्रमिकहरुको अबस्था पनि उस्तै छ । चाहे विद्यालय बनाउने श्रमिक होउन्, वा जलविद्युत आयोजनामा काम गर्ने श्रमिक, पारिश्रमिक नपाएर हैरान छन् ।
पैसा आउने निकायबाट पैसा आउँछ, तर अनैतिक बनेर सो पैसा आफैले चलाउँछन् अनि श्रमिकलाई धुरुधुरु रुवाउँछन् । रासन खाएको ठाउँमा तिरोतारो गर्न पनि ठेकेदारले पैसा दिँदैनन्, जसले गर्दा अब पसलेले रासन दिन छोड्छ । उता डेरा गरेर बसेको घर भाडा तिर्ने पैसा हुदैन, घरबेटीले दिनहूँ भाडा मागेर हैरान पार्छ, भाडा नतिरे घर छाड् भनेर नित्य सताउँछन्, तर तिर्नका लागि साथमा पैसा हुँदैन ।
कैयौँ उदाहरण छन्, यस्ता । यस्तो समस्या समाधानका लागि सम्बन्धित निकाय कुन हो ? कसले यसमा अग्रसरता लिनुपर्छ ? मनन गरौँ र श्रम गर्नेको श्रमको ज्याला दिन बाध्य पार्ने वातावरण निर्माण गरौँ ।




