| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकामा कर्मचारीको बिषयमा सँधै लफडा

गोरखा नगरपालिका कार्यालयमा कर्मचारीको बिषयलाई लिएर सँधै लफडा हुने गरेको छ । कुनैबेला एउटा पक्षले करारमा कार्यरत कर्मचारीको करार अवधि नथपौँ भनेर दबाब दिँदा लफडा हुने गरेको छ, फेरि कहिले अर्को पक्षले मेयरका दादागिरी गर्ने पीएको करार अवधि नथपौँ भनेर लफडा भएको छ ।

लफडा जुनखाले भए पनि विवादमा नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुको नाम मुछिएको छ । यसले पक्कै पनि उनीहरुको छवि र गरिमामा प्रश्नचिन्ह खडा भएको छ । यी दुईखाले लफडासंग राजनीतिक रङ पनि मिसिएको छ ।

गत शुक्रबार पत्रकार सम्मेलन गरी उपमेयर सपना पुनलगायतका कांग्रेस संवद्ध कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयभित्र र बाहिर पनि दादागिरी गर्दै हिँड्ने मेयरका पिए अनिस अर्याललाई यथासीघ्र निश्कासन गर्नुपर्ने बताए । सँधै कार्यालयका कर्मचारीमाथि डर, धाक, धम्की दिने, दुव्र्यवहार गर्ने, मानमर्दन हुने खालका गतिविधि गर्ने, आक्रमण गर्नै तम्सिने अर्याललाई पदमा राखिरहनु नहुने उनीहरुले तर्क गरे ।

पिएले सरकारी सवारी साधन चलाएर हिँड्न नपाउने भए पनि नियम कानूनको धज्जी उँडाउँदै सरकारी मोटरसाइकल चलाएर हिँड्ने, मान्छे कुट्न जाँदा पनि नगरपालिकाको मोटरसाइकल प्रयोग गर्ने गरेकाले नगरपालिकाले उनलाई पदमा राखिराख्नु नहुने उनीहरुको भनाइ थियो । जो, कार्यालयमा रहँदा कर्मचारी त्रासको अनुभूति गर्छन्, त्यस्ता व्यक्तिलाई टिकाइराख्नु नहुने र यदि निश्कासन नगरे कार्यपालिका बैठकमा सहभागी नहुने, नगरसभामा सहभागी नहुने उनीहरुको अडान छ ।

यसअघि अर्यालकै निश्कासनको माग गर्दै ४६ जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतकसमक्ष मागपत्र पेश गरेका थिए ।
कर्मचारी र कार्यपालिका सदस्यहरुले जति जोडबल गर्दा पनि नगरप्रमुखले उनीहरुको मागप्रति नजरअन्दाज गर्दा विवाद समाधानतिर गएको छैन । यो समस्या समाधान गरी नगरपालिकाको वातावरण स्वच्छ बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्