
कुनै व्यक्तिका कारण नगरपालिकाको गरिमामा प्रश्न नआओस्
तत्कालिन गोरखकाली, रानीस्वाँरा र तारानगर गाउँ विकास समिति मिलेर २०५३ साल माघ ११ गते स्थापना भएको गोरखा नगरपालिका गोरखाको सबैभन्दा जेठो नगरपालिका हो । त्यतिबेला यसको नाम पृथ्वीनारायण नगरपालिका थियो । २०७१ मङ्सीर १६ मा फिनाम र नरेश्वर गाविसहरू समेत यसमा गाभिए र २०७३ फागुन २२ मा ताप्ले र देउराली गाविसहरूसमेत यसमा गाभिएर क्षेत्र विस्तार भयो ।
सबैभन्दा जेठो हुनुले र सदरमुकाम अथवा जिल्लाको केन्द्रमा समेत रहेको हुनाले पनि गोरखा नगरपालिकाको थप गरिमा छ । नेपाल एकीकरणको उद्गमस्थल हुनुले पनि यो ठाउँ महिमा उच्च छ । विश्वले चिन्ने गोरखाको शौर्य यो नगरपालिकामा निहित हुनु कम्ति शान र सौकतको बिषय होइन ।
त्यसैले देशका प्रायः सबले छोएको, चिनेको, सुनेको, देखेको ठाउँ हो यो । गोरखासंग गोरखा बजारबासी, गोरखा नगरपालिकाबासी मात्र नभै आम नेपालीले शीर उचो भएको महशुस गर्छन् । त्यसैले यसको सान, मान र गरिमामा कत्तिपनि आँच आउनु हुन्न ।
जिल्लाका ११ पालिकामध्य गोरखा नगरपालिका जिल्लाको ‘अनुहार’ हो । यो सुन्दर हुनुपर्छ, यो सुन्दर देखिए जिल्ला सुन्दर देखिन्छ । यसमा दाग देखिए, जिल्लामै दाग देखिन सक्छ । तर दुखपूर्वक भन्नुपर्छ, केही दिनअघिदेखि गोरखा नगरपालिका कार्यालयभित्रको वातावरण धमिलिएको छ ।
नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिवका रुपमा कार्यरत अनिष अर्याल(ज्याक)ले बारम्बार ‘गुण्डागर्दी’ चरित्र देखाएको, विभिन्न शाखामा हस्ताक्षेप गर्ने गरेको, मानमर्दन गर्ने गरेको, काम गर्ने अत्मबल गिराउने काम गरेको भन्दै कर्मचारीहरुले अर्याललाई हटाउनु पर्ने माग राखेका छन् । अर्यालको करार भंग गरी कार्यालयबाट हटाउन माग गर्दै नगरपालिकामा कार्यरत ४६ जना– करिब ८० प्रतिशत) कर्मचारीले हस्ताक्षर गरिएको मागपत्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेश गरेका छन् ।
नगरप्रमुखले आफूलाई सकारात्मक सहयोग गर्न भनेर नियुक्त गरेका व्यक्तिले नगरपालिकाभित्र र नगरपालिका बाहिर पनि अमर्यादित काम गर्दा त्यसको ‘बाछिटा’ नगरप्रमुखसम्म पनि पुग्छ । अत्यन्त सालिन, निर्विवादित र स्वच्छ छविका नगरप्रमुख आफ्ना स्वकीय सचिवका कारणले विवादमा आउनु पनि सुहाउँदो हुदैन । यसबारे नगरप्रमुखले कसैको दवाव, प्रभाव भन्दा पनि स्वविवेक प्रयोग गर्नु श्रेयस्कर हुन्छ ।




