| सोमवार, कार्तिक २३, २०८३

प्रधानमन्त्री, मुख्यमन्त्रीसंग गोरखाबासीको बेहद अपेक्षा

गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद मुलुकका प्रधानमन्त्री बनेका छन् । गोरखा २ कै प्रदेशसभा २ बाट निर्वाचित सांसद गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री पनि, मुख्यमन्त्री पनि गोरखाबाटै भएपछि गोरखाको विकास बेहद हुने जनअपेक्षा छ ।
चुनावी अभियानमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखाली जनताले जिताएर पठाएमा पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्री बन्न सक्ने संकेत गरेका थिए । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन आफ्नो भूमिका रहने बताउने गरेका थिए ।

प्रचण्डले भाषणका क्रममा मतदाताले नडगमगाई दह्रो हात गरेर मत दिएमा गोरखाको विकासका लागि आफूले पनि हात नकमाई बजेट तथा योजना पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नभन्दै अहिले उनीहरुले भनेजस्तै भएको छ । एकजना प्रधानमन्त्री बने, अर्का एकजना मुख्यमन्त्री बने । उनीहरुलाई गोरखाली मतदाताले बधाइ तथा शुभकामना दिएका छन् । अब उनीहरुले दिएको आश्वासन चरितार्थ हुने, नहुने पर्खाइमा मतदाताहरु छन् ।

अधिकांश चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गोरखाका धुले सडक पक्की हुने आश्वासन जोडदार रुपमा दिएका थिए । सँधैजसो पालुंटार एयरपोर्ट र गोरखकाली रवर उद्योग पुनसंचालन गर्ने, बूढीगण्डकी आयोजना यथासीघ्र सुरु गर्ने, बेनिघाट आरुघाट लार्के सडक निर्माण सम्पन्न गर्ने वाक्यहरुलाई सुगारटाइ झै व्यक्त गर्ने गरेका थिए ।

यसअघि गोरखाका रामशरण बस्नेत गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा गोरखामा पर्याप्त नभए पनि प्रशस्त बजेट तथा योजना परेका थिए । अब मुख्यमन्त्री नै भएपछि त्यो भन्दा धेरै विकास हुने अनुमान छ ।
विकास निर्माणबाट जिल्लालाई कायापलट गराउने काममा उनीहरुको योगदान रहोस् । उनीहरुको व्यक्तिगत, पार्टीगत गरिमा पनि बढोस्, जिल्लाको विकास पनि होओस् ।

प्रतिक्रिया दिनुहोस्