| सोमवार, कार्तिक २३, २०८३

चुमभ्यालीका लागि पक्की बाटो बनाऊ

बर्खाका बेला सँधै उत्तरी गोरखा जाने बाटो बिग्रिन्छ । बाटो बिग्रिएपछि त्यस भेग र तल्लो भेग(सहरी क्षेत्र)का बीच सम्बन्ध, सम्पर्क बिच्छेद हुन्छ ।

त्यहाँ पर्याप्त खाद्यान्न उत्पादन हुँदैन, तल्लो भेगबाटै लानु पर्छ । ढुवानी गर्नका लागि मोटरबाटो पुगेको छैन, खच्चडले बोक्नुपर्छ । बाटो बिग्रिएपछि खाद्यान्न ओसार्न पनि असम्भव हुन्छ । कोही बिरामी भयो वा घाइते भयो वा सुत्केरी हुन नसकेर समस्या भयो भने उपचार गर्न तल्लो भेग लैजान पनि सम्भव हुदैन । बाटोकै समस्याका कारण कैयौँले अकालमा जीवन गुमाउनु परेको छ ।

बाटो बिग्रिएपछि एक गाउँ र अर्को गाउँ बीचको आवतजावत पनि कैयौँदिनसम्म बन्द हुन्छ । प्रमुख आयस्रोतमध्यको पर्यटन व्यवसाय पनि बाटोकै कारण समस्यामा पर्छ । त्यसैले आजसम्म उत्तरी गोरखाका बासिन्दाका लागि सबैभन्दा ठूलो आवश्यकता भनेको पक्की बाटो हो । त्यसैले त उनीहरु आफ्नो गाउँमा जुनसुकै पार्टीका शीर्ष नेता आइपुगे भने मागपत्र पेश गर्छन् । १० वुँदे, १५ वुँदे माग पत्रको पहिलो नंबरमा पक्की बाटोको माग हुने गर्छ ।

चुमनुब्री ६ लोक्पाको सर्दीभिरमा निर्माण गरिएको क्याण्टिलिभर पुल गत असोजको पहिरोले क्षतिग्रस्त बनायो । युरोपियन प्रविधिमा निर्मित क्याण्टिलिभर पुलको मर्मत गर्न स्थानीय प्रविधि उपयुक्त हुने कुरै भएन, त्यसैले सात महिनासम्म मर्मत हुन सकेन ।

स्थानीयले ढुंगा, मुढाको प्रयोग गरी काम चलाउ बनाए र सात महिनासम्म मान्छेहरु हिँडे । याक, चौँरी, खच्चड हिँडे ।
केहीदिनअघि मात्र सो क्याण्टिलिभर पुल मर्मतसम्भार भएको छ । अब यो पनि आउँदो बर्खा महिना(असार, साउन, भदौ)सम्म मात्र हुनसक्छ । फेरि पानी पर्छ, पहिरो झर्छ, पुल क्षतिग्रस्त हुन्छ ।

बर्षौँदेखिको यो नियमित आकस्मिकतालाई अन्त्य गर्न अब उत्तरी गोरखाका गाउँबस्ती जाने मुख्य तथा सहायक बाटोहरुलाई पक्की बनाउनु पर्छ, खतरामुक्त बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्