| सोमवार, कार्तिक २३, २०८३

गाउँलेको माग गाउँलेलाई नै सुनाउने होइन

हिमाली भेगमा जाँदा त्यहीँका बासिन्दासित एकाकार हुने, तर तल्लो भेगमा झरेपछि त्यहाँका मैलाधैलासंग स्थानीयबासीको दुख, पिडाका कथा, व्यथा पनि धुने प्रवृत्ति ‘ठूलाबडा’ छ । त्यो प्रवृत्ति प्रधानमन्त्री, मन्त्री, सांसद, नेता र कर्मचारीमा पनि विद्यमान छ ।

एकपटक, दुईपटक, तीनपटक, पटक पटक यही प्रवृत्ति दोहोरिएपछि दुर्गम गाउँका बासिन्दा आजित भएका छन् । राजधानी, सदरमुकामबाट बेलाबेला हिमाली भेग भ्रमण गर्न आउने, आउँदा उनीहरुका समस्यामा एकाकार हुने र फर्केपछि वास्ताव्यस्ता नगर्ने प्रवृत्ति अब उनीका बीचमा गोप्य रहेन । खुलस्त भयो ।

यहाँ आउने दुखी, गरिब गाउँबासीको हितका लागि होइन, उनीहरुकै ‘घुमफिर’का लागि रहेछ भन्ने बुझ्न अब उनीहरुलाई कठिन भएन । त्यसैले उनीहरु ‘… कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा…’ भन्ने गीतको शव्द सम्झन्छन् ।

‘यहाँ आउँदा हामीसँग पिरति लाउने, तल गएपछि छुट्ने रहेछ भन्ने हामीले थाहा पायौँ’, दुर्गमबासीको पीडायुक्त कथन हो यो । ‘त्यसैले हामी अब माया पनि लाउँदैनौँ, आशा पनि गर्दैनौँ’, भन्ने उनीहरुको निश्कर्ष छ । यसको परिणाम केही भिआइपीको भ्रमणका क्रममा देखाइसकेको पनि उनीहरुको भनाइ छ ।

अहिले पनि ठूला नेताहरु दुर्गम जाँदा निषेधित क्षेत्रले दुर्गमबासीलाई दुख भयो, त्यो हटाउनु पर्छ भनेर भाषण गर्छन् । चिनियाँ नाका बन्द हुँदा यहाँका बासिन्दाले धेरै कष्ट भोग्नु परेको छ । त्यो नाकाबन्दी हट्नु पर्छ भन्ने गर्छन् । यस भेगमा सडक निर्माणको काम नहुँदा धेरै कुरामा समस्या आइपरेको छ त्यसैले सडक निर्माण आयोजनामा धेरै बजेट विनियोजन गर्नुपर्छ भन्छन् ।

गाउँलेको जे माग छ, नेता, मन्त्री, प्रधानमन्त्रीहरुले बारम्बार त्यही दोहो¥याउने होइन, त्यो माग पूरा गरी अर्को पटक त्यहाँ जाँदा ‘मैले यो काम गरेँ’ भनेर देखाउन सक्नुपर्छ । के सुगम, के दुर्गम, अहिलेका नागरिक सचेत छन्, भाषणमा होइन, काममा विश्वास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्