
गोरखामा धमाधम विद्युत उत्पादन हुनु सुखद
कुनै बेला थियो, नेपालीले हप्तामा ८० घण्टासम्म लोडसेडिङको मार खेप्नु पर्दथ्यो । विद्युत प्राधिकरणमा अदक्ष, भ्रष्ट, कार्यकारी निर्देशक र कर्मचारीको असक्षम व्यवस्थापनले गर्दा देशले कहालीलाग्दो लोडसेडिङ खेपिरहनु परेको थियो ।
प्राधिकरणमा कुलमान घिसिङको आगमनपछि चुचुरामा पुगेको लोडसेडिङ एक्कासी जमिनमा खस्यो । अर्थात लोडसेडिङ युगको अन्त्य भयो, अर्थात कुलमानको उदयले मुलुकको मुहार उज्यालो भयो ।
‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ भन्ने नारायण गोपालको गीतले भनेझैँ, एउटा मान्छेको आगमनले मुलुकको विद्युत सेवामा आकास जमिनको फरक प¥यो ।
लोडसेडिङ मात्र हटेन, उनको आगमनपछि घाटामा चलिरहेको विद्युत प्राधिकरण धमाधम नाफाको खुड्किला चढ्न थाल्यो । थन्किएर बसेका जलविद्युत आयोजनाका फाइलहरु धमाधम अघि बढ्न थाल्यो । अहिले मुलुकमा धमाधम जलविद्युत आयोजनाका काम अघि बढिरहेका छन् । एकपछि अर्को गर्दै जलविद्युत आयोजना सम्पन्न हुदैछन् ।
अब उनले एउटा काम गर्न बाँकी छ, उनको आगमनकालसम्म विद्युत प्राधिकरणलाई डुबाउनेविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउनु छ ।
अहिले नेपाललाई आवश्यक पर्ने जलविद्युत नेपालभित्रै उत्पादन भइसकेको छ । त्यतिमात्र होइन, यो बर्षदेखि सयौँ मेगावाट जलविद्युत भारत, बंगलादेश जस्ता छिमेकी देशलाई बेच्ने गृहकार्य भइरहेको छ ।
गोरखामा पनि धमाधम जलविद्युत आयोजनाको निर्माण भइरहेका छन् । १० करोड भन्दा धेरै लागतमा कालिका कन्स्ट्रक्शनले ६.२ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत आयोजना सम्पन्न गरेको केही बर्ष बितिसकेको छ । त्यसपछि दुई बर्षअघि ५ मेगावाटको रिचेतखोला जलविद्युत आयोजना सम्पन्न भइसकेको छ । केही महिनाअघि माछाखोलामा ४ मेगावाट क्षमताको अपर माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई उद्घाटन भइसकेको छ । त्यस्तै सुपर चेपे, अपर रिचेतखोला जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
यसैगरी धमाधम विद्युत उत्पादन हुनु सुखद पक्ष हो । यसले मुलुक जलविद्युतका दृष्टिले संवृद्ध हुदैजानेछ । अनि नेपाल धनी बन्ने अपेक्षा गर्न सकिन्छ ।




