| सोमवार, कार्तिक २३, २०८३

बारपाक–लाप्राक सडकको ठेकेदारलाई ताकेता गर

जिल्लाकै सबैभन्दा धेरै बजेट परेका योजनामध्य एक थियो, बारपाक–लाप्राक सडक स्तरोन्नति योजना । दुर्गम भनेर चिनिने ‘धार्चेको लाइफलाइन चेञ्ज गराउने’ सडकको रुपमा चिनिएको उक्त सडकखण्ड स्तरोन्नति गर्ने अथवा ग्राबेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने कामका लागि ३४ करोड १५ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । तर निर्माण व्यवसायीले काम नगर्दा त्यति ठूलो योजनाको काम अहिले अलपत्र परेको छ ।

म्याद थप भएको समय सकिन अब जम्मा डेढ महिना बाँकी छ तर काम भने ४८ प्रतिशत मात्र प्रगति भएको छ । जिम्मा लिएको काम नगर्ने कम्पनी शर्मा÷विक्वी जेभी हो ।

बाँकी अवधिमा ५२ प्रतिशत प्रगति हुन सम्भावना छैन । यसरी देश विकासको काम खाडलमा हाल्ने ठेकेदारलाई कारबाही गर्न नसक्दा गलत नजिर बसेको हो ।

गोरखाको पर्यटकीय गाउँ बारपाकदेखि लाप्राकको एकीकृत नमूनाबस्ती गुप्सीसम्मको १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्यक्रम थियो । सो योजना अघि नबढ्दा अहिले सो सडकमा यात्रुबाहक बस चल्न सकेको छैन । साना सवारी साधन आउजाउ गर्न पनि मुस्किल छ ।

यो सडक धार्चे प्रवेश गर्ने सडक हो । यो सडकले बारपाकबाट लाप्राक, गुम्दा हुँदै माछाखोला जोड्छ । त्यस्तै लाप्राकबाट अर्कोबस्ती सिङ्ला पनि जोड्छ । लाप्राकबाट खोर्ला, उहियासम्म जोड्ने योजना छ । उता गुम्दाबाट खानीगाउँ, लापुसम्म पनि सञ्जाल विस्तार हुनसक्छ । तर प्रवेशद्वारको काम नै अलपत्र छ ।

यदि यो सडक स्तरोन्नतिको काम हुने हो र बर्खाका बेला पनि बेरोकतोक बारपाक पुगेको गाडी लाप्राक पुग्न सक्ने हो भने दुर्गम भेगका बासिन्दाले अभाव तथा महंगीको मार खेप्नु पर्नेछैन ।

दुर्गमबासीको सपना जोडिएको सो सडक योजना तुहाउने ठेकेदारलाई कार्यालयले ताकेता गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्