| सोमवार, कार्तिक २३, २०८३

मिटरव्याज पिडितको समस्याप्रति चाँडो ध्यानाकर्षण होओस्

नेपालमा हर समय कुनै न कुनै एजेण्डामा आन्दोलन भइरहने गरेको छ । कुनै पनि बिषयमा आन्दोलन नगरिएको दिन सायदै भेटिएला ।

अहिलेचाहिँ नेपालमा दुईवटा आन्दोलनले विशेष बजार पाएको छ । ती दुवै आर्थिक विषय हुन् । एउटा, लघुवित्त वितीय संस्थाद्वारा ग्राहकमाथि हुने गरेका दुव्र्यवहार तथा चर्को व्याजले ढाड सेकाएर उठ्नै नसक्ने बनाएकोविरुद्ध आन्दोलन । लघुवित्तबाट पिडित भयौँ भन्नेहरु हिजोआजा दिनहूँ जिल्ला प्रशासन कार्यालयको प्रांगणमा धर्ना बसिरहेका भेटिन्छन् । विभिन्न दूर दराजबाट आलोपालो गरी आएका आन्दोलनकारीहरु कहिले सडकमा नाराबाजी गरिरहेका पनि भेटिन्छन्, कहिले तातो सडकमा दिनभर घाममा सेकिएर धर्ना बसिरहेका हुन्छन् ।
अर्को मिटरव्याज पिडितहरुको आन्दोलन ।

मिटरव्याजबाट घरबार गुमाएका तथा जीवनभर किस्ता तिरे पनि नसक्ने गरी ऋणमा डुबेकाहरु पनि आन्दोलित छन् । साहुले ३६ प्रतिशत व्याज, निर्धारित समय कटेपछि फेरि संकलित व्याज पनि सावामा जोडेर एकमुष्ठ बनाउने अनि फेरि त्यसको व्याजबापत रकम निर्धारित समयपछि सावामा जोडेर फेरि ब्याज लिने चक्रीय व्याजबाट पिडितहरु देशका विभिन्न जिल्लाबाट काठमाडौँमा आन्दोलनमा छन् ।

यस्तो समस्या गोरखाका गाउँसहर जहाँतहीँ छ । एकलाख ऋण लिएकाहरु अहिले १० लाख भन्दा धेरै तिर्नुपर्ने भएपछि पिडित बनेका छन् ।

मिटरव्याजी साहुहरुले पैसा सापटी दिनुअघि नै आसामीको घर, जग्गा आफ्नो नाममा रजिस्ट्रेशन पास गरी लिन्छन् । अनि त्यही घर जग्गा वैँकमा धितो राखी सस्तो व्याजदरमा ऋण लिन्छन् । अनि उनीहरुकै जग्गा धितो राखेर वैँकबाट लिएको पैसा उनै गरिब किसानलाई दोब्बर, तेब्बर धेरै व्याज लिने गरी दिन्छन् ।

आफ्नै जग्गा वैँकमा राखी सस्तो व्याजमा साहुले लिएको पैसा आफैले महंगो व्याजदरमा लिएर व्याजको स्याज गर्दै साहुले उनीहरुलाई ऋणमा डुबाइरहेको अबस्था छ ।

दुर दराजका गाउँहरुमा परापूर्व कालमा हुने गरेको जस्तो घटना सहरबजारमा पनि हुनु अत्यन्त दुखदायी छ । यसप्रति सरकारको तत्काल ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्