| सोमवार, कार्तिक २३, २०८३

ज्यामीको ज्याला नदिनेलाई कारबाही गर

के सहर, के गाउँ, हाडछाला घोटेर काम गर्ने निर्माण मजदुरले ज्याला नपाएको गुनासो जताततै छ । विशेषगरी भवन, सडक निर्माण तथा स्तरोन्नति गर्न काम गर्ने विशेषगरी अदक्ष ज्यामी, कुल्लीहरुले घाम, पानी नभनी दुख गरेको पारिश्रमिक ठेकेदार आफैले पोल्टो भर्छन् ।

केहीबाहेक अधिकांश ठेकेदारले श्रमिक मजदुरलाई यसरी ठग्छन् कि, श्रम गरेको पारिश्रमिक नपाउँदा डेरा गरेर बसेको घरभाडा, रासन खाएको पसलको तिरोतारोसमेत गर्न नसक्दा बिचल्ली हुने गर्छ । बिखर्ची हुनेहुँदा चाहेका बेला काम छोडेर घर फर्कन समेत नसक्ने गरी ठेकेदारले श्रमशोषण गर्ने गर्छन् ।

भूकम्पपछि गाउँगाउँमा विद्यालय पुनर्निर्माण गर्दा प्राय ठेकेदारले कामदारलाई पारिश्रमिक भुक्तानी गरेका छैनन् । विशेषगरी धार्चे गाउँपालिकामा यो समस्या चर्को छ । धार्चे १ को इच्छा आधारभूत विद्यालय, धार्चे ३ को दुङ्ला आधारभूत विद्यालय, पार्वती आधारभूत विद्यालय, धार्चे ५ को सूर्योदय मावि र सिँहदेवी आधारभूत विद्यालय पुनर्निर्माण गरेका श्रमिकले पारिश्रमिक पाएका छैनन् ।

ठेकेदारले ठेक्का घाटा लागेको भन्दै श्रमिकलाई ज्याला नदिएका हुन् । गाउँगाउँका श्रमिकहरुले ३० हजार, ४० हजार, ५० हजार, ६० हजारदेखि एकलाख भन्दा माथिसम्म रकम पाउन बाँकी छ । उनीहरुले स्थानीय पसलमा रासन खाएको रकम समेत घरबाट लगेर तिर्नुपरेको समस्या छ ।

हुलचुककी एक खच्चड व्यवसायीले आठलाख रुपैयाँ पाउन बाँकी छ । यसबाट पिडित भएर उनले खच्चडै बिक्री गरेकी छिन् । खच्चडले बालुवा, ढुंगा, सिमेण्ट ढुवानी गरेको रकम पाउनु त परको कुरा, यसअघि कमाएको पैसा समेत खच्चडलाई खुवाउनमा खर्च गर्नुपरेको छ । यसले गर्दा टाट पल्टेको उनको दुखेसो छ ।

पसिना बगाएर कमाएको सुका मोहरले जहान परिबार पाल्ने उनीहरुको रहर बालुवामा पानी सरह बिलाएको छ । समस्याका बारेमा पिडितहरुले पालिका सरकारलाई गुनासो गर्ने गरेका छन् तैपनि पालिकाले यस्ता समस्या समाधानका लागि पालिकाले चासो दिने गरेको छैन । यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्