| सोमवार, कार्तिक २३, २०८३

भूमिहिनलाई लालपूर्जा बाँड्ने बारपाक सुलीकोटको तदारुकता उदाहरणीय

भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीहरुको समस्या देशव्यापी छ । सर्वव्यापी समस्या समाधान गर्ने पहलस्वरुप सरकारले आयोग गठन ग¥यो र जिल्ला जिल्लामा कार्यालय स्थापना ग¥यो ।

कार्यालय खडा गरी काम सुरु गरेको पनि पाँचबर्ष भन्दा धेरै भयो । तर सरकार फेरिएपिच्छे आयोगको नेतृत्व परिवर्तन हुने, यसको असर जिल्ला तहमा समेत पर्ने गरेकाले कामले गति लिन सकेन ।

अहिले भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुको लगत तयार गर्ने, सिफारिस गर्ने लगायतका काम गर्न पालिकाहरुलाई जिम्मा छ । तर पालिकाले यस्तो महत्वपूर्ण काम कछुवा गतिमा गरेको छ ।

गाउँका कैयौँ भूमिहिनहरुले आफ्नो नामको लालपूर्जा हात नपारिकनै जीवन समाप्त गरिसकेका छन्, कैयौँ सुकुम्बासीहरु अहिले पनि लालपूर्जा पाउने आशा गर्दै बुढेसकाल बिताइरहेका छन् । कामको यो सुस्तता हेर्दा उनीहरुको पनि हातमा लालपूर्जा पर्छ कि पर्दैन भन्ने अबस्था छ । यो कटु यथार्थ गाउँगाउँमा छ ।

तर बारपाक सुलीकोट गाउँपालिकाले भने आफूले गर्नुपर्ने काम सम्पन्न गरी जिल्लास्थित आयोगको कार्यालयमा फाइल पठाएको छ । अर्थात बारपाक सुलीकोट गाउँपालिकाका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीले अब लालपूर्जा पाउने दिन नजिकिएको छ । जीवनभर दस नङ्ग्रा खियाएको आफ्नो माटो आफ्नै नाममा हुने दिन आएको छ । यसका लागि बारपाक सुलीकोट गाउँपालिकाको तदारुकता स्तुत्य छ ।

अरु पालिकाले पनि भूमिहिन, सुकुम्बासीहरुले सुखको सास फेर्न पाउने यस कामलाई प्राथमिकतामा राखी काम गर्नु जरुरी छ । काम त सबै महत्वपूर्ण हुन्छ, तैपनि यो काम सबैभन्दा निम्नबर्गले राहत पाउने काम भएकाले प्राथमिकीकरणको नंबर १ मा राखेर गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्