
मिलेमतोमा ठेक्का विकासको सिण्डिकेट
जुनसुकै कुरा जब एउटा मात्र हुन्छ, तब प्रतिस्पर्धा हुदैन । जब प्रतिस्पर्धा हुदैन, तब मनोमानी हुन्छ । जब मनोमानी हुन्छ, तब गुणस्तरीय हुदैन । जब गुणस्तरीय हुदैन, तब टिकाउ हुदैन ।
ठेक्कामा प्रतिस्पर्धाको अभ्यास त्यसैले गरिएको हो । प्रतिस्पर्धै नगर्ने हो भने राज्यको ढुकुटीबाट लाखौँ खर्च गरेर टेण्डर प्रक्रिया किन गर्नुपथ्र्यो ? टिका लगाएर दिए भै हाल्थ्यो । साम, दाम, दण्ड, भेद प्रयोग गरी छेकथुन गरेर प्रतिस्पर्धा गर्नबाट रोकतोक भएपछि इविडिङको प्रविधि आएको हो । इबिडिङ गर्दा पनि मिलेमतो गरेर एउटाको नाममा स्वतः सहमति गर्नु दुखद हो ।
प्रतिस्पर्धा गर्दा व्यवसायीहरुले कम दरमा काम गर्न तयार हुन सक्थे । प्रतिस्पर्धा गर्दा एउटाले भन्दा अर्काले गुणस्तरीय काम गर्ने प्रतिवद्धता व्यक्त गर्न सक्थे । प्रतिस्पर्धा गर्दा एउटाले भन्दा अर्काले छिटो काम सम्पन्न गर्न आश्वस्थ पार्न सक्थे ।
तर प्रतिस्पर्धा नगरी एउटाको नाममा मिलेमतो गर्दा रेटमा उसको बोलवाला चल्छ ।
गुणस्तर, निर्माण समायावधि सबैमा उसको हैकम चल्छ । मिलेमतो गर्दा काम नगर्ने तर च्याखे मात्र थापेर ठेकेदारसित बार्गेनिङ गर्ने, रकम हडप्ने परम्परा सुरु हुन्छ । जसले गर्दा व्यवसायी स्वयंलाई पनि घाँडो हुन थाल्छ । यही नहोस् भनेर सरकारले इबिडिङ गर्न सुरु गरेको हो । यदि इबिडिङ गर्दा पनि मिलेमतो हुने हो भने प्रतिस्पर्धाका लागि फेरि अर्को प्रविधि अपनाउनु पर्ने हुन्छ ।
मिलेमतो सिण्डिकेट हो । सिण्डिकेटले काममा मनोमानी हुन्छ । प्रतिस्पर्धामा सबैले आफ्नो योग्यता, क्षमता, दक्षता, सीप प्रयोग गर्न पाउँथे । जसले गर्दा काममा, दररेटमा, चुस्ततामा तथा विभिन्न कुरामा प्रतिस्पर्धा हुन पाउँदैन । त्यसैले ठेक्कामा मिलेमतो नहोस्, स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होओस् ।




