| सोमवार, कार्तिक २३, २०८३

गोरखकाली मन्दिर छिटो नबन्दा सास्ती

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर निर्माण (रेट्रोफिटिङ) को काम अहिले चलिरहेको छ । २०७९ असार मसान्तमा सक्नुपर्ने मन्दिर रंगमहल निर्माणको काम अहिलेसम्म पूरा नभएको हो । एक करोड ९५ लाख लागतको उक्तकाम पूरा नहुँदा भक्तजनले भुकम्पपछि बनेको गोरखा दरवारमा पूजा गर्दै आएका छन् । गोरखकालीको पूजा दरवारतर्फ हुँदै आएको छ ।

नेपाल एकीकरणको सुरुवात भएको गोरखामा गोरखकाली, गोरखानाथको दर्शन गर्न आईतवार यहाँ आएका राष्ट्रपति रामचन्द्र पौडेलले पनि गोरखकाली मन्दिरमा गर्नुपर्ने कालिकाको पूजा नयाँ बनेको गोरखा दरवारमा गरे । बन्दै गरेको गोरखकाली समयमै पूरा नहुँदा उच्च पदस्थ ब्यक्ति, भक्तजनहरु सबैलाई सास्ती भएको छ । मन्दिर वरपर निर्माण सामग्री यत्रतत्र छरिएको छ । ईट्टा, काठ, चौकोस बाँदरले भत्काउने गरेको छ । निर्माणको चरणमा रहेकाले मन्दिरको स्वरुप राम्रो देखिँदैन ।

यसअघि गोरखा दरबार पुन निर्माण हुँदा पनि समयमा काम भएन । बिभिन्न बाहनामा निर्माण ब्यवशायीले धेरै पटक म्याद थप गरे । नेपालको इतिहास हेर्न, बुझ्न गोरखा आएकाहरु दरबार अलपत्र देखेर खिन्न हुन्थे । धार्मिक सम्पदा, स्थलहरु छोटो समयमा छिटो निर्माण गर्ने परिपाटीको बिकास गर्नुपर्छ । यहाँ आवश्यक काठ, चुना, सुर्की, इट्टाको प्रबन्धनमा पहिलो प्राथमिकता दिनुपर्छ । राज्यले आवश्यक प्रक्रिया छिटो गरेर सामग्री उपलब्धतामा सहज गरिदिने र ब्यवशायीलाई ढिला गर्ने छुट नदिने हो भने निर्धारित समय भन्दा छिटो बन्न सक्छ ।

अहिले बन्दै गरेको गोरखकाली मन्दिर चैत मसान्तमा सिध्याउने जिम्मा निर्माण कम्पनीले लिएको छ । निर्माण ब्यवशायीले अझै १५ प्रतिशत भन्दाबढि काम गर्न बाँकी रहेकाले थप समयभित्र सकिने छाँटकाँट छैन । काठ अभाव, कामदार अभाव, ऐतिहासिकता र धार्मिकता झल्कनेगरी निर्माण गर्नुपर्ने भएकाले सामग्रीको अभाव जस्ता कारण निर्माण ब्यवशायीले देखाउँछ । बिभिन्न बाहनामा काम नगर्ने ब्यवशायीलाई कडा कारवाही गर्न नसक्दासम्म धार्मिक आस्थाको धरोहर मान्ने मन्दिरहरु समयमै नबनाउनेले अन्य बिकास निर्माण कसरी समयमै गर्लान् ?

प्रतिक्रिया दिनुहोस्