
शिलान्यास भएका योजना छिटो उद्घाटन होस्
धेरै योजनाहरु बन्छन् तर पूरा हुँदैनन् । योजना बनाउँदैमा कुन समयमा के काम गर्ने भन्ने यकिन नगर्दा र काममा बेवास्ता गर्दा पूर्वाधार निर्माणका धेरै काम अधुरै छन् ।
वडा, स्थानीय तह, संघ र प्रदेश मातहतका बिकास निर्माणको काम गर्ने कार्यालयले सुरु गरेका धेरै काम पूरा भएका छैनन् । जनप्रतिनिधिहरु जसरी काम शिलान्यास गर्न र निर्माण ब्यवशायीहरु ठेक्का लिन तम्सिन्छन् त्यसरी नै उद्घाटन गर्न तम्सिएर भने बिकास योजना छिटो पूरा हुने थियो ।
आरुघाट गाउँपालिका जोड्ने गरी स्तुल खोलामा पुल निर्माणको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा पुल शिलान्यास भयो । एक वर्षभित्र पुल निर्माण सिध्याउने गरी निर्माण कम्पनीले करिब साँढे चार करोडमा बेलिब्रिज बनाउने जिम्मा लिएको छ ।
यो पुल एक वर्षभित्र सकिएन भने निर्माण कम्पनीलाई हदैसम्मको कारवाही गर्न सक्नुपर्छ । तब मात्र उसले शिलान्यास भएको दिनदेखि काममा चासो दिन्छ । कामले गति लिन्छ । वर्षात, मजदुर अभाव, मूल्यवृद्धि, निर्माण सामग्री अभाव लगायत कारण देखाएर निर्माण कम्पनीले योजना अलपत्र पारिरहेका छन् । सम्झौता गरेको समयभन्दा कयौँ वर्षपछि सम्पन्न हुने गर्छन ।
बारपाकमा निर्माण हुँदै गरेको भुकम्प स्मृतिपार्क, बारपाकसम्मको सडक, लाप्राक हुँदै गुम्दा सडक, बेनिघाट–आर्खेत सडक, पालुङटार हवाई मैदान, मध्यपहाडी लोकमार्ग, सोती खोला पुल जस्ता थुप्रै योजना समयभित्र पूरा भएका छैनन् । कुन योजनामा कस्तो समस्या आउन सक्छ भन्ने पहिचान पहिल्यै हुनुपर्छ । त्यो समस्या आएमा समाधान कसरी गर्ने भन्नेपनि योजना डिजाईन हुँदैमा बन्नुपर्छ ।
धेरैवटा काम जिम्मा लिने, एकातिर गर्ने, अर्कोतिर अलपत्र पार्ने गर्दा यो समस्या आएको हो । एउटा काम पूरा नगर्दासम्म अर्को जिम्मा लिन नपाउने नीति बन्नुपर्छ । निरन्तर एउटै काममा कम्पनीको ध्यान केन्द्रित हुँदा समयभित्रै सम्पन्न हुन सक्छ । सर्वसाधारणलाई लाभ पुग्ने, धेरै बजेट र महत्वका योजनामा लापर्वाही झनै धेरै छ । जसका कारण राज्यको लगानी उपयोग गर्नबाट सर्वसाधारण बञ्चित भएका छन् ।




