
प्रशिक्षक प्रशिक्षणले खेलाडी उत्पादनमा बल पुगोस्
गोरखा जिल्ला फुटबल संघ (एन्फा) ले गोरखामा फुटबल प्रशिक्षक उत्पादन गर्ने योजना सहित प्रशिक्षण दिने भएको छ । एन्फामा आवद्ध ११ वटा क्लवबाट दुई÷दुई जना र गाउँपालिकाबाट ८ जनाले प्रशिक्षण लिने एन्फा गोरखाले जनाएको छ । गोरखामा अहिले फुटबल प्रशिक्षक कम छन् ।
प्रशिक्षक बढे भने फुटबल खेल्नेहरु पनि थपिने र उनीहरुको सिप बिकास हुने अपेक्षा एन्फाको छ । तर उपयुक्त मैदान, खेल सामग्रीको अभाव लगायतका कारणले भने गोरखामा फुटबलको बिकास राम्रोसँग हुन सकेको छैन ।
गोरखा सदरमुकाममा ११ ए साईड फुटबल खेल्ने मैदान नै छैन । हरमटारी खेलमैदानमा ९÷९ जना मात्रै खेल्न मिल्ने मैदान छ । गोरखा नगरपालिका १० छेपेटारमा रहेको मैदानमा ११÷११ जना खेल्न मिल्ने मैदान छ तर नियमित खेल गतिविधी हुन सकेको छैन । धेरैजसो गाउँपालिकामा ठुला र स्तरीय मैदानको अभावमा फुटबलको बिकास हुन सकेको छैन । गाउँपालिकाहरुले संचालन गर्ने बिभिन्न प्रतियोगितामा पनि फुटबलले कम स्थान पाउने गरेको छ ।
गाउँगाउँमा रहेका युवा क्लवहरु, एन्फा गोरखा, यससँग आवद्ध क्लवहरुले वर्षेनी फुटबल प्रतियोगिता गरिरहेका हुन्छन् । ती प्रतियोगिता संचालन गर्दा प्रशिक्षण बिना खेलाडी आफ्नो क्षमताले भ्याएसम्म खेल्ने गर्छन । उनीहरुलाई प्रशिक्षण दिने, फुटबलको कला सिकाउने हो भने अझै खेलमा निखार आउन सक्छ ।
एन्फा गोरखाले प्रशिक्षकलाई प्रशिक्षण मात्र दिने होईन प्रशिक्षक बनिसकेपछि उनीहरुले गाउँगाउँमा रहेका खेलाडीहरुलाई खेल सिकाउनु पनि लगाउनुपर्छ । खेल क्षेत्रको बिकासका लागि स्थानीय सरकारसँगको समन्वय पनि एन्फाले गर्नुपर्छ । ३० जना प्रशिक्षकमध्ये आधा मात्रैले ब्यवशायिक रुपमा खेल सिकाउन थाले भने गोरखा जिल्लाभर केही राम्रा खेलाडी तयार हुन सक्छन् ।
ती खेलाडीले गाउँ, वडा, पालिका, जिल्ला, प्रदेश हुँदै देशकैलागि खेल्ने अवसर पाउन सक्छन् ।
तालिम दिने ब्यक्ति तयार भएर मात्र पनि हुँदैन रुचि भएका, क्षमता भएका योग्य खेलाडी बन्न सक्ने ब्यक्ति चयन गरेर प्रशिक्षण दिन सके एन्फा गोरखाले राखेको उद्देश्य पूरा हुन सक्छ ।




