
आधारभूत अस्पताल भवन बनाउन पालिकाहरु किन असक्षम ?
सरकारले गाउँठाउँका सबै नागरिकले स्वास्थ्य सेवा पाउन् भन्ने हेतुले सबै पालिकाहरुमा कम्तिमा पाँचदेखि १५ शैयासम्मको अस्पताल निर्माण गर्ने कार्यक्रम घोषणा ग¥यो । त्यसअनुसार गोरखाका आठ वटा पालिकामा पनि अस्पताल बन्ने भयो ।
यसअघि गोरखाका गोरखा नगरपालिका गोरखा अस्पताल र पालुङ्टार नगरपालिकामा आँपपिपल अस्पताल थिए ।
बाँकी सिरानचोक गाउँपालिका, आरुघाट गाउँपालिका र गण्डकी गाउँपालिकाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र थिए । बाँकी पालिकाहरुमा भने स्वास्थ्यचौकी मात्र थिए । ती पालिकामा पनि अस्पताल बनाउने कार्यक्रम सरकारको थियो ।
स्वास्थ्यचौकीमा एचए, अहेब, अनमिहरुले सेवा दिएका हुन्छन् भने प्राथमिक स्वास्थ्यकेन्द्रमा एकजना डाक्टरको दरबन्दी पनि हुन्छ । अस्पतालमा अझै धेरै डाक्टरहरुले सेवा दिएका हुन्छन् । दुरदराजका ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले पनि डाक्टरको सेवा पाउनु पर्छ भन्ने उद्देश्य राखी सरकारले प्रत्येक पालिकामा अस्पताल बनाउने कार्यक्रम अघि बढाएको हो । सोही उद्देश्यअनुसार कतिपय पालिकाले भवन बनाउन थालिसकेका छन् ।
कसैले निर्माणको अन्तिम चरणमा पनि पुगेका छन तर कतिपय पालिकाले अहिलेसम्म अस्पताल बनाउनका लागि जग्गा जुटाउन सकेका छैनन् । कतिपयले भाडाको घरमा अस्पताल सेवा सञ्चालन गरेका छन् ।
अस्पताल जस्तो महत्वपूर्ण कुरामा कुनैपनि पालिकाका प्रमुखले जग्गाको सहमति जुटाउन नसकेको बहाना बनाएर उम्किन पाइँदैन । यो चरम लज्जाको बिषय बन्छ । यसले नागरिकहरुमा कमजोर नेतृत्वको महशुस हुन्छ । त्यसैले निर्णय गर्न ढिला गर्नुहुन्न ।
स्वास्थ्यचौकीले दिने स्वास्थ्य सेवा र अस्पतालले दिने स्वास्थ्य सेवाको गुणस्तर पक्कै फरक पर्छ । यो मर्म बुझेर सरकारले लिएको लक्ष्य पूरा गर्न कुनै पनि पालिकाका अध्यक्षहरु चुक्नुहुन्न । र विवाद भएको भए पनि समाधान गरेर काम अघि बढ्न ढिला गर्नुहुन्न ।




