
गोरखाको स्ववियु निर्वाचनमा मेलमिलापको राजनीतिक सुगन्ध
आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शुक्रबार सम्पन्न चारै विद्यार्थी संगठन र उनका मातृपार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तालमेल गरेर उम्मेद्वारी दिने निर्णय गरेका हुन् ।
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने सहमति भएको हो ।
शनिबार उम्मेद्वारी दर्ता गर्ने दिन सोही सहमति अनुसारै उम्मेद्वारी दर्ता पनि गरेका छन् । यसले विद्यार्थी संगठन बीच मेलमिलापको राजनीतिक संस्कारको सुगन्ध दिएको छ ।
शनिबार मनोनयन दर्ता गर्ने क्रममा देशका विभिन्न क्याम्पसहरुमा तनाब सिर्जना भएको समाचार छ । तर गोरखाको सन्देश फरक छ । यहाँ विद्यार्थीको हक र हितको पक्षमा काम गर्ने संस्था सर्वदलीय, सर्व पक्षीय हुनुपर्छ । मिलेर बनेको संस्थाले मात्र सबैको हित गर्न सक्छ भन्ने सन्देश प्रबाह गरेको छ ।
यसअघि घोषित स्ववियू निर्वाचनमा कुन संगठनले पहिले मनोनयन दर्ता गर्ने भन्ने बिषयमै तनाब सिर्जना हुँदा चुनाव स्थगित भएको थियो । त्यो भन्दा अघिका निर्वाचनहरुमा पनि झडप र तनाब भएका थिए ।
तर यसपटक के सत्ता गठबन्धन निकट, के इतर पक्ष मतभेद नगरी हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्ने प्रयत्न हुनु धेरै सुखद पक्ष छ । यसपटक भएको यो सहमतिले आगामि बर्षहरुमा हुने स्ववियु निर्वाचनलाई पनि शान्ति र मेलमिलापको सन्देश दिन सकोस् ।
निर्वाचनमा मात्र मेलमिलाप गरेर पुग्दैन । आगामि दिनमा स्ववियुले गर्ने कार्य सम्पादनमा पनि यसैगरी एक आपसमा सरसहयोग र हातेमालोको नीति अवलम्बन गर्नुपर्छ ।




