| सोमवार, कार्तिक २३, २०८३

निर्बाहमुखी कृषिलाई व्यवसायिकतर्फ लैजाऔँ

नेपाल कृषिप्रधान मुलुक भनेर बाल्यकालदेखि घोकाइन्छ । तर श्रमबाहेक बिऊ, मललगायत सबै आवश्यकीय कुरा विदेशबाट आयात गरिन्छ । त्यसले पनि थेग्दैन अनि चामल, गहुँ, कोदो, मकै, तरकारी, फलफूल, खसी, बोका सबका सब आयात गरिन्छ ।

आजका दिनसम्म नेपालका गाउँघरतिर निर्वाहमुखी कृषि कर्म गरिदै आएको छ । यसले नेपाली मौलिकता प्रदर्शन गर्छ । अलिकति धान, अलिकति मकै, अलिकति कोदो, अलिकति गहुँ, अलिकति जौ खेती गरिन्छ । त्यस्तै अलिकति तरकारीजन्य, अलिकति मसलाजन्य, अलिकति फलफूलजन्य खेती पनि गरिन्छ । त्यस्तै अलिकति दलहन, अलिकति तेलहन खेती पनि गर्ने परम्परा छ । अलिअलि पशुपालन, अलिअलि पन्छीपालन, अलिअलि माछापालन पनि गरिन्छ । एकव्यक्ति, अनेक व्यवसायको पनि आफ्नै सौन्दर्य होला । तर यसले न पर्याप्त उत्पादन, न आम्दानी हुन्छ ।

यही मनन गरी सहिद लखन गाउँपालिकाले प्रत्येक वडामा फरक फरक खेती गर्ने र त्यसकै पकेट क्षेत्र बनाउने पहल गरेको छ । आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भरता बढाउने उद्देश्यसहित पालिकाले गाउँपालिकाले वडा १ लाई अकबरे खुर्सानी, सिताके च्याउ, तरकारी र धानको पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा नम्बर २ लाई सुन्तला, बंगुर र स्थानीय कालो सुँगुरको पकेटक्षेत्र, वडा ३ लाई आलु, काँक्रो, आँप, लिची, केरा, भैसी, माछा र लेयर्स कुखुरा, वडा ४ मा मकै तरकारी, बाखा र माछा, वडा ५ मा सुन्तला र बाखा, वडा ६ मा कफी, केरा, माहुरी, मकै, भैसी पकेटक्षेत्र, वडा ७ लाई तरकारी, पिडालु, आलु, अदुवा, बेसार, सुँगुर, बंगुर, लेयर्स कुखुरा, बडा ८ लाई पिंडालु, एभोकाडो, बेसार, अदुवा, धान, माछा र लेयर्स कुखुरा र वडा ९ लाई तरकारी, टमाटर, आलु, मकै, भैसी र बाखाको पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरेको छ ।
यसको परिणाम हेरेर अन्य पालिकाले पनि अनुशरण गरे राम्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्