
विद्यालय सुधारमा अभिभावकको सक्रियता
सामुदायिक विद्यालय नतिजामा मात्र होईन अन्य अतिरिक्त क्रियाकलाप, विद्यार्थीको अनुशासन र संस्कारमा पनि निजी भन्दा फरक देखिन्छ । कारण निजी विद्यालयमा जसरी अभिभावकले सामुदायिक विद्यालयलाई समय दिएका हुँदैनन् ।
महँगो शुल्क तिरेकाले पनि होला निजी विद्यालय पढाएका अभिभाबक छोरोछोरीको नतिजा र विद्यालयसँगको सम्पर्कमा बढी चासो राख्छन् ।
सबै सामुदायिक विद्यालय निजी भन्दा कमजोर पनि छैनन् । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न नसकिने पनि होईन तर यसकालागि अभिभाबक, शिक्षकमा इच्छाशक्ति चाहिन्छ ।
शिक्षकले नियमित पढाए, नपढाएको, अन्य विद्यार्थीको गुणस्तरको स्तर लगायतका विषयमा अभिभावकले निग्रानी गर्नुपर्छ । शिक्षकले नयाँ प्रविधि अनुकुल पठन पाठन गर्ने, विद्यार्थीको कमजोरी अभिभावकलाई बताउने, नियमित परीक्षा लिने गर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक स्तर बढ्ने निश्चित छ । यसकालागि एक पक्ष र एउटा क्षेत्रमा सुधार भएर हुँदैन । घरदेखि विद्यालय सम्मको वातावरणमा सुधार हुनुपर्छ ।
भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक स्थित हिमालय माविको शैक्षिक गुणस्तर वृद्धि गर्न अहिले अभिभावकपनि जुटेका छन् । ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु हरेक दिन विद्यालय प्रवेश गर्ने विद्यार्थीलाई गेटमा उभिएर नमस्कार गर्छन । हरेक विद्यार्थीले गेटमा ब्यवस्थापन समितिका सदस्यलाई नमस्कार, गुड मर्निङ भन्दै भित्र जान्छन् । गेटमा अभिभावक देखेपछि विद्यार्थीमा अनुशासनको पालना गर्ने क्रम बढेको महशुस शिक्षकहरुले गरेका छन् ।
विद्यार्थी मात्र होईन, शिक्षकहरु पनि १० बजे अगाडि नै आउँछन् । विद्यालय पोशाक शिक्षकका लागि पनि अनिवार्य छ । विद्यार्थी बिच समबन्ध सुमधुर होस्, विद्यार्थीले गुरुको सम्मान गर्न सिकुन् भन्ने उद्देश्यले ब्यवस्थापन समितिले यो अभियान एक महिनादेखि संचालन गरिरहेको छ ।
आफुभन्दा ठुला, साना सबैले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना हराउँदै गएकाले सिकाईकालागि यो सुरु भएको यो अभियान धेरै प्रभावकारी भएको अनुभव शिक्षकले पनि गरेका छन् । यस्ता सभ्य संस्कारसँगै आधुनिक प्रविधिबाट सिकाउने, ब्यवशायीक शिक्षा तर्फ केन्द्रित हुने, अनुशासनको नियममा शिक्षक, विद्यार्थी, अभिभावक रहने हो भने सामुदायिक विद्यालय पनि गुणस्तर अब्बल बन्न सक्छन् भन्ने उदाहारणीय बन्न धेरै समय लाग्दैन ।




