
अभिलेखीकरण गर्ने गण्डकीको उदाहरणीय अभियान
तथ्यांक संकलन गर्न र अभिलेख राख्न प्राय सरकारी निकाय धेरै नै कमजोर देखिन्छ । यसको ठिक उल्टो गैरसरकारी संस्थाहरु अभिलेखीकरणलाई जोड दिन्छन् । उनीहरु काम गर्न जत्तिकै मिहिनेत अभिलेखीकरणमा गर्ने गर्छन् ।
तर सरकारी निकाय यतिसम्म कमजोर छ कि, शिक्षा विभागसंग देशभर कतिजना शिक्षक छन् भन्नेसम्म तथ्यांक छैन । शिक्षा विभागको मात्र यस्तो हविगत होइन, प्राय सबै निकाय यस्तै हुन् ।
गोरखाका पालिकाहरुसित कतिवटा सहकारी संस्था दर्ता छन्, तिनको अबस्था के कसो छ ? कर तिरिरहेका छन् कि छैनन्, साधारण सभा गरिरहेका छन् कि छैनन् ? कि मृतप्राय भइसकेका छन् ? यस्तो अवस्था पनि दुरुस्त गाउँ तथा नगरपालिकासित छैन ।
यस्ता तथ्यांक लिनुपर्ने धेरै बिषयहरु छन् तर पालिकाहरु तथ्यांक संकलन तथा अभिलेखीकरणमा कमजोर छ । त्यसैले गण्डकी गाउँपालिकाले तथ्यांक संकलन तथा अभिलेखीकरणका लागि छुट्टै अभियान सञ्चालन गरेको छ । विशेषगरी उद्योग व्यवसायहरु दर्ता गर्न ५० प्रतिशत मिनाहा दिएर प्रोत्साहित गरिरहेको छ साथै कर्मचारी खटाएर तथ्यांक संकलन गरिरहेको छ । करको दायरामा ल्याउने योजनासहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहिवारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरेको हो ।
फागुन महिनाभरि टोलटोलमा अभियान संचालन गरी असार मसान्तसम्म ५० प्रतिशत छुटमा वडा कार्यालयमा उद्यम व्यवसाय दर्ता गर्ने लक्ष्य पूरा गर्ने पालिकाको योजना छ । असार मसान्तसम्म पनि ब्यवशाय दर्ता र घर जग्गाको अभिलेखिकरण नगर्नेलाई थप हर्जना लाग्न सक्ने पालिकाको चेतावनी छ । समयमै कर तिर्नेलाई भने ५० प्रतिशत छुट दिने जनाएको छ ।
गाउँपालिकाले मोवाईल वालेट, खल्ती, ईसेवा लगायत प्रविधिबाट कर तिर्ने ब्यवस्था गरेको छ । यस्ता गतिविधि अन्य पालिकाले पनि सञ्चालन गरेमा पालिकाको काम चुस्त, दुरुस्त हुनेछ ।




