
सडक र वनको वैरभाव कम गरौँ
प्राय वन क्षेत्रमा सडक निर्माण कार्य सहज हुदैन । वन क्षेत्र हुदै निर्माण हुने सडक निर्माण अघि बढ्न नसकेर बर्षौँ थन्किएका सडकहरुको धेरै उदाहरण छन् । एघारकिलो छेपेटार बारपाक सडकको झ्याल्ला खण्ड पनि वन क्षेत्र परेकै कारण अहिलेसम्म चौडा गर्न सकिएको छैन । त्यस्तै मध्यपहाडी लोकमार्गको मसानेठाँटी, पालुङटार खण्ड पनि विगत १२ बर्षदेखि चौडा गर्न रोकिएको छ ।
ठूलै ओहोदामा रहेका नेतृत्वहरुले धेरै मिहिनेत गरे पनि वन विभागबाट अनुमति पाउन नसक्दा सो खण्ड स्तरोन्नति हुन सकेको थिएन । अन्ततः बल्लतल्ल स्तरोन्नति गर्न अनुमति पाएको छ । अब धमाधम रुख कटानी कार्य सुरु भएको छ ।
मसानेठाँटी–पालुङटार खण्डको १६ किलोमिटर सडक स्तरोन्नति गर्न सडकको ‘राईट अफ वे’ भित्रका आठसय ३६ वटा रुख काट्न सुरु गरिएको हो । त्यहाँबाट सातहजार क्यूफिट भन्दाबढि काठ र दाउरा निस्कनेछ ।
वन क्षेत्रमा धेरै लडेसडेका रुखहरु हुन्छन् । धेरै पुरानो भइसकेका रुखहरु पनि हुन्छन, जसलाई व्यवस्थापन गर्न सकेमा वन पनि राम्रो हुने, उपभोक्ता समिति तथा सरकारलाई पनि राजस्व राम्रै आम्दानी हुनेछ । नेपालमा काठ आवश्यक प¥यो भने मलेसिया तथा अन्य तेस्रो मुुलुकबाट काठ निर्यात गर्नुपर्ने अबस्था छ, तर नेपालको काठ वनभित्र कुहिएर खेर गइरहेको अबस्था छ । अर्कातिर चोर, तस्करले जथाभावी लुकीचोरी काटेर तस्करी गरिरहेका हुन्छन् ।
अव्यवस्थित चोरी, तस्करी रोक्न हरसम्भव प्रयास गर्ने तर खेर जाने अबस्थाका काठपातलाई वैधानिक तबरले कटानी गर्ने र व्यवस्थित गर्ने गरेमा न वन मासिने, वातावरण बिग्रिने चिन्ता, न वनजन्य सामग्रीको अभावले विदेशबाट महंगोमा आयात गर्नुपर्ने अबस्था हुनेथियो ।
कतिपय ठाउँमा वन फाँड्ने मूल उद्देश्य बनाएर वनभित्र सडक खन्ने सहायक उद्देश्यले सडक निर्माण गरेका घटना पनि छन् । यस्तो घटनाको भने अध्ययन, विश्लेषण गरेर अनुमति नदिन पनि सकिन्छ । तर निर्विकल्प ठाउँ र अत्यावश्यक परिस्थितिलाई विवेचना गरी अनुमति दिनु उचित हुन्छ ।




