| सोमवार, कार्तिक २३, २०८३

गोरक्षआरतीलाई दीगो बनाउनु आवश्यक

अहिले जिल्ला–जिल्लामा, सहर–सहरमा सन्ध्या आरती जगाउने लहर चलेको छ । पोखराको तालबाराहीमा, गुप्तेश्वर गुफामा, विन्दवासिनीमा पनि आरती सुरु भएको छ । त्यस्तै चितवनको नारायणी किनार इत्यादिमा ।

अहिले शिवरात्रीदेखि गोरखाको पुष्करतीर्थमा पनि आरती सुरु भएको छ । साप्ताहिक रुपमा गर्ने गरी आरती सुरु गरिएको हो । यसलाई गोरक्ष आरती संज्ञा दिइएको छ ।

शनिवार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त आरतीको शुभारम्भ गरेका हुन् । उद्घाटनसंगै उनले आफ्नो निजीस्रोतबाट आरती संचालनार्थ अक्षयकोष स्थापना गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

स्थानीयको अगुवाइमा आरती हुन थालेपछि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सहर गोरखामा पर्यटन प्रवद्र्धनमा मद्धत पुग्ने विश्वास लिइएको छ । सुरु गर्नु मात्र ठूलो कुरा होइन, निरन्तरता पाउँछ कि पाउँदैन भन्नेले जुनकुनै कुरामा महत्व राख्छ । त्यसैले यदि आरती कार्यक्रम राम्रो हो भने यसलाई निरन्तरता दिन हामी सबै जाग्नुपर्छ । आरतीले तत्काललाई आनन्द मात्र होइन, समाजमा धार्मिक सद्भाव पनि बढाउँछ ।

गोरखा मुख्यगरी गोरखनाथद्वारा रक्षित स्थल हो त्यसैले यहाँ गोरक्षआरती निकै सार्थक छ । गोरखनाथ, कालिका मन्दिरमा हरदिन बिहान र साँझ गोरखनाथ, कालिका मन्दिरमा नगरासहितको पूजाआजा, सन्ध्या, आरती हुने गर्छ । त्यो अवलोकन गर्न गोरखा दरबार पुग्नुपर्छ । यसलाई सहजताका साथ प्रतिकात्मक रुपमा बजार क्षेत्रमा ने आरती गर्दा दर्शनार्थी, भक्तजन बढ्नेछन् ।

आरतीको धार्मिक, सांस्कृतिकसंगै सामाजिक रुपमा पनि महत्व हुन्छ, किनभने, आरतीले मानवमनमा शान्तिभाव पैदा गर्छ, जसले समाजमा शान्ति, सकारात्मकता, समभाव, सहिष्णुता विस्तार हुनेछ । त्यसैले गोरक्ष आरतीलाई दीगो बनाउन हरतरहबाट पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्