
बजार सुरक्षाका लागि विशेष योजनाको खाँचो
शुक्रबार मध्यरातमा गोरखा बसपार्कस्थित नबिल वैँक र तीनवटा पसलमा चोर पसेको छ । गार्डको व्यवस्था नभएको बसपार्कस्थित नबिल वैँक र प्याराडाइज होटल तथा नयाँबजारस्थित अर्याल मेडिकल र ओमशंकर कस्मेटिक फुटाएर चोरले केही नगद चोरी गरेको हो ।
वैँक फुटाए पनि चोरी गर्न भने सकेको थिएन । वैँकको चापी हात पारेर यत्रतत्र पैसा खोजेको तर चोर्न नसकी छोडेको छ । होटलको पछाडिबाट छिरेका चोरले काउण्टरमा रहेको पाँच हजार रुपैयाँ लगेको छ । राती एक बजेतिर चोर अर्याल मेडिकल र मेडिकल रहेको घरभित्र प्रवेश गरेर चोरले काउण्टरमा रहेको १० हजार नगद र सोही घरमा डेरागरी बस्ने डाक्टर असीम कँडेलको कोठा फुटाई त्यहाँ रहेको २० हजार नगद चोरेको छ । त्यस्तै नयाँबजारकै ओमशंकर कस्मेटिक पसल र पसल रहेको घर पनि फुटेको छ । चोरले सो पसल र घरको गरी पाँचवटा ढोका फुटाएको छ ।
बजारभित्रको सुरक्षा व्यवस्था कमजोर भएकाले यस्ता भयावह घटना भएका घरधनीहरुको भनाइ छ । जिल्लाको सदरमुकामभित्रको सुरक्षा व्यवस्था कमजोर भएको उनीहरुको भनाइ छ । यो घटनाबाट ठूलो क्षति नभएपनि अबका दिनमा सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने देखिएको छ । नगद धेरै नचोरिदैमा यो अपराधलाई कम आँक्न हुदैन । वैँक फुट्नु, पसल, होटलहरु फुटाउनु धेरै ठूलो घटना हो ।
प्रहरीलाई अल्लि सघन रुपमा परिचालन गर्नुपर्ने आवश्यक छ । यसअघि विभिन्न चोक, घुम्ती, बसपार्क तथा सम्वेदनशील ठाउँहरुमा अक्सर प्रहरी बाक्लै देखिन्थे । तर अचेल धेरै भयो, प्रहरी बाहिर कम देखिने गरेको छ ।
प्रहरीको संख्या धेरै हुँदैमा अपराध कम हुने नत्र नहुने भन्ने त होइन, तैपनि प्रहरीको बाक्लै परिचालनले नहुनु भन्दा केही सुधार चाहिँ पक्कै हुन्छ । अथवा अन्य विशेष योजना बनाएर बजारको सुरक्षाका लागि संवेदनशील हुनुपर्छ




