| सोमवार, कार्तिक २३, २०८३

विकासे विभागका नेतृत्वहरुप्रति गोरखालीको आशा

पूर्वाधार विकास गर्ने चार मुख्य मन्त्रालयअन्तर्गतका विभागका प्रमुखहरुमा गोरखाली नियुक्त भएका छन् । सम्बन्धित मन्त्रालयले सडक विभाग, पूर्वाधार विभाग, खानेपानी विभाग र सिँचाइ विभागका महानिर्देशकहरुमा गोरखा घर भएका राजपत्राङ्ति प्रथम श्रेणीका कर्मचारी नियुक्त भएका हुन् ।

सडक विभागका महानिर्देशकमा सुशील ढकाल, पूर्वाधार विभागमा इश्वरचन्द्र मरहट्टा, खानेपानी विभागमा रमाकान्त दुवाडी र सिँचाइ विभागमा सुशील आचार्य नियुक्त भएका हुन् । यो संयोग गोरखाका लागि धेरै खुशीको कुरा हो ।
अहिले प्रधानमन्त्री पनि गोरखाबाटै निर्वाचित भएर गएका पुुष्पकमल दाहाल छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि गोरखाली नै छन् । यो अवसर पनि न भुतो, न भविष्यति नै हो ।

राज्यको सबैभन्दा उपल्लो तहमा पनि गोरखाबाटै निर्वाचित जनप्रतिनिधि, कर्मचारीको उपल्लो तहमा पनि गोरखालीले नै नेतृत्व गरिरहेका बेला गोरखाको विकासको गति अब हिँड्ने होइन, दौडन्छ भनेर अपेक्षा गर्न सकिन्छ ।

गोरखा एउटा यस्तो जिल्ला हो कि, जहाँ सुगमताको पनि दुर्गमताको पनि अनुभव लिन सकिन्छ । यहाँकै डाँडापाखामा हिडेर बाल्यकाल र स्कुले जीवन बिताए व्यक्तित्वहरु राज्यको ठूलो ओहोदामा पुग्नु उनीहरु स्वयंका लागि मात्र नभै जिल्लाको पनि सौभाग्य हो । उनीहरुलाई जिल्लाको सुख पनि थाहा छ, दुख पनि थाहा छ ।

यो दुख मोचन गर्न के गर्नुपर्छ भन्ने पनि राम्ररी नै थाहा छ । किनभने उनीहरु त्यस्सै यो ठाउँमा पुगेका होइनन्, जिल्लाभित्रै विभिन्न तहमा बसेर काम गरेको अनुभव पनि उनीहरुसित छ । गोरखाको यथार्थ अबस्थाबारे जानकारी छ, कसरी विकास गर्न सकिन्छ भन्ने बारे पनि जानकारी भएकाले उनीहरुबाट अब धेरै ठूलो विकासको अपेक्षा राख्नु स्वभाविक छ ।

गोरखाली जनताले गरेको आशा अपेक्षामा उच्च तहका उनै जनप्रतिनिधि तथा उच्च तहका उनै कर्मचारीहरुबाट तुषारापात हुनेछैन भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्