| मङ्लबार, कार्तिक २४, २०८३

आम्ची उपचार पद्धतिसम्बन्धी गोष्ठी सम्पन्न

गोरखा सदरमुकाममा श्याग्या परम्परा र आम्ची उपचार पद्धति सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजना तथा चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह समितिको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले श्याग्या परम्परा र आम्ची उपचार पद्धति सम्बन्धी जानकारी गराएका थिए । परम्परागत ज्ञान विज्ञान लोप हुने अवस्था पुगेको बेला पटक पटक छलफल र बहसबाट संरक्षण क्षेत्रभित्र कुनै अवरोध नआउने गरी श्याग्या र आम्ची उपचार सम्बन्धी ऐन जारी भएको उनले बताए । उनका अनुसार गाउँपालिकाको १२ औँ गाउँसभा तथा हिउदे अधिवेशनले ‘आम्जी’ र ‘स्याक्या’ विधेयक पास गरिसकेको छ ।

सदरमुकामबाट ५० देखि ५२ कोशसम्म टाढा रहेको यस भेगमा आम्जीद्वारा उपचार गर्ने पद्धति प्रचलनमा छ । नेपाल सरकारले समेत वैकल्पिक उपचार विधि भनेर मान्यता दिएको यस उपचार पद्धतिलाई गाउँपालिकाले पनि अपनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

आम्जीले उपचार गर्ने पद्धतिलाई ‘सोवारिग्पा’ पनि भनिन्छ । आम्जी भनेको मंगोलियन भाषामा ‘डाक्टर’ हो । आम्जीलाई सयौँ बर्षअघि तिब्बतका राजाले औषधीउपचार गर्न स्वास्थ्यकर्मीहरुमार्फत आविष्कार गराएको विधि भनेर चिनिन्छ । आयुर्वेदिक औषधी, अकुपञ्चर र युनानी उपचार विधिको असल अभ्यासको मिश्रित रुप ‘सोवारिग्पा’ हो । यो विधिबाट उपचार गर्नेलाई आम्जी भन्न थालिएको बताइन्छ ।

यो विधि तिब्बतबाट लोकप्रिय भएपछि भुटान, मंगोलिया, नेपालको हिमाली भेगमा फैलिएको हो । आम्जीले वनस्पति, जडिबुटी, वन्यजन्तुका केही अंग, माटो, चट्टान जस्ता खनिज, तान्त्रिक विद्या र अकुपञ्चरको प्रयोग गरी रोगको उपचार गर्ने यस विषयका विज्ञ नरेन्द्र लामाले जानकारी दिए ।

पालिकाले आम्जी विधेयक पारित गरेपछि अब स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकामा व्यवसाय दर्ता गरेर क्लिनिक, औषधालय वा सानोतिनो अस्पतालसमेत सञ्चालन गर्न पाइने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै चुम उपत्यकामा प्रचलित ‘स्याग्या’ परम्परालाई पनि पालिकाले मान्यता दिएको छ । प्राणीको शारीरिक तथा मानसिक हिंसा अन्त्य गर्न बिगत एकसय एक बर्षदेखि अपनाइएको ‘स्याग्या’ परम्परालाई कानूनी मान्यता दिएको गाउँपालिकाका प्रमुख निमा लामाले बताए ।

यस विधेयकमा कुनै पनि सजीव प्राणीलाई काटमार नगर्ने, काटमार गर्ने उद्देश्यले पशुचौपाया तथा पंक्षी पालन नगर्ने र काटमार गर्ने उद्देश्यले बेचबिखन पनि नगर्ने, काटमार गर्ने उद्देश्यले चुम उपत्यका हुँदै पशुचौपाया ओसारपसार नगर्ने, महका लागि मौरी पालन नगर्ने, वनजंगलमा डँडेलो नलगाउने लगायतका वुँदाहरु समेटिएका गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

कार्यक्रम सामुदायिक वन महासंघ गोरखाका अध्यक्ष कमलप्रसाद लामिछानेले प्रकृति र संस्कृतिका संरक्षण गर्न सबै लाग्नुपर्ने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियारले स्थानीय स्तरमा भएका विभिन्न जडीबुटीहरुको अध्ययन, अनुसन्धान गरी सहि सदुपयोग गर्न जोड दिनुपर्ने बताएका थिइन् ।

प्रतिक्रिया दिनुहोस्