
चुमनुब्रीमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरौँ
गोरखाका ११ पालिकामध्य अब चुमनुब्री गाउँपालिकामा मात्र सवारी साधन चल्दैन । धार्चेको पनि वडा नं. १ लाई सडक सञ्जालले जोडेको छ तर सवारी साधन चल्दैन । वडा नं. २, ३ र ६ का केही बस्तीमा अहिले पनि सवारी चल्दैन, अर्थात सडक सञ्जालले जोडेको छैन ।
ती गाउँबस्तीका जनजीवन कष्टकर छन् । विकास निर्माणका सामग्री हेलिकोप्टरले ढुवानी गर्नुपर्ने अबस्था छ । हेलिकोप्टरले सामान ढुवानी गरेर विकास निर्माणको काम गर्दा लागत कैयौँ गुना बढि पर्न जान्छ जसले गर्दा साना तिना विकास गर्न पनि कठिनाइ छ । अर्थात थोरैतिनो बजेटले विकास निर्माणको काम गर्न कल्पना गर्न पनि सकिन्न । पालिकाको बजेटले खाम्दैन । प्रदेश स्तरबाट विनियोजित बजेट पनि यहाँका लागि हात्तीको मुखमा जीरा सरह हुन्छ ।
अर्कातिर बिरामी, घाइते वा सुत्केरी बेथाले सिकिस्तहरु चुमनुब्रीका बासिन्दा सवारी साधनको सुविधा नहुँदा धेरै समस्यामा छन् । कैयौंले धेरै महंगो खर्च गरी हेलिकोप्टर चार्टर गरी अस्पताल जानु पर्ने अबस्था छ भने कैयौँले ज्यान गुमाउनु पर्ने अबस्था छ । यस्तो अबस्थालाई मध्यनजर गरी चीन सरकारले तिब्बती कुङथाङ सहरमा निर्मित अस्पतालमा निशुल्क वा सहुलियत शुल्कमा उपचार सेवा दिने घोषणा गरेको थियो तर तीनबर्षदेखि नाकाबन्दी गरेको छ ।
त्यसैले यहाँका बासिन्दा धेरै समस्यामा छन् ।
अब बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको कामलाई जतिसक्दो छिटो निर्माण गर्नुपर्छ । साथै माछाखोला, सिर्दिबास छेकम्पार सडक निर्माणको कामलाई पनि गति दिनु पर्ने अत्यन्त जरुरी छ । चुम उपत्यका जाने बाटो त झन बर्षेनी पहिरोले केही महिना बाटो हिड्न समेत नमिल्ने अबस्थामा छ । त्यसैले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले यस क्षेत्रमा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।




