
स्याक्या सताव्दी महोत्सवको सन्दर्भिकता
चुम उपत्यकामा आउँदो वैशाख ६ गतेदेखि चार दिने स्याक्या(अहिंसा) सताव्दी महोत्सव हुने भएको छ । चुम उपत्यकालाई अहिंसा(स्याक्या) क्षेत्र घोषणा गरिएको एकसय बर्ष पूरा भएको अवसरमा चुम कल्याण समितिले स्याक्या सताव्दी महोत्सव मनाउन लागेको हो ।
प्रधानमन्त्रीको उपस्थितिमा महोत्सव मनाउन लागिएको आयोजकले बताएको छ ।
यसअघि गाउँपालिकाले चुम उपत्यकाको स्याक्या ऐन पारित गरेर वैधता दिइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पनि स्याक्या सम्बन्धी विनियमलाई दर्ता गरेर मान्यता प्रदान गरेको छ ।
स्याक्या संहिताअनुसार साविक चुम्चेत र छेकम्पार गाविस(चुम उपत्यका)मा प्राणी हिंसा निषेध छ । साथै प्राणीलाई कुट्न समेत मनाही छ । मह काढ्नुलाई पनि हिंसा परिभाषित गरी मह नकाढ्ने, बाली खान आउने जंगली तथा घरपालुवा जनावरलाई कुनै पनि हतियार प्रयोग गरेर नलखेट्ने, वनमा डँडेलो नलगाउने पनि उल्लेख छ ।
साथै मासु खाने प्रयोजनका लागि वा सो प्रयोजनका लागि बेच्ने गरी पशुपालन नगर्ने, ती नै प्रयोजनका लागि पशुलाई चुम उपत्यकाको बाटो ओसारपसार गर्न नपाइने आदि संहिता तयार गरिएको छ ।
एकसयबर्षदेखि चुम उपत्यका ती संहितामा आवद्ध छन् । यदि यहाँका चेली अन्यत्र विहे गरी गएमा पनि यी नियमलाई निरन्तरता दिने र अन्यत्रका चेली यहाँ बिहे गरी आएमा पनि यो नियम कार्यान्वयन गर्नै पर्ने नियम बनाइएको छ ।
चुम उपत्यकामा सतप्रतिशत वुद्ध धर्मअवलम्बीहरु छन् ।
वुद्धको शान्तिको सन्देशबाहक यो नियम अति महत्वपूर्ण छ । यसलाई अझै दीगो बनाइरहनु पर्छ, जसले विश्व शान्तिको अभियानमा ठूलो सन्देश दिनेछ । साथै यसलाई धेरै भन्दा धेरै प्रचार गरी अन्यत्र पनि स्याक्या घोषणा गर्न मद्दत पुगोस् ।




