
बायोमेट्रिक हाजिरी मेसिनको प्रयोगतिर चासो देऊ
केही बर्षअघि फ्रान्समा गठित लेजामी द लाप्राकका टोली लाप्राक आएका थिए । उनीहरुले त्यहाँको मणिकामदेवी माविमा कक्षाकोठा भवन, छात्रवास भवन निर्माण गरेका थिए । शिक्षकको पनि व्यवस्था गरिदिएका थिए । विद्यार्थीहरुलाई पोशाक, खाजाको पनि व्यवस्था गरेका थिए ।
विद्यालय अनुगमन भ्रमण गर्ने क्रममा केही बर्षअघि निर्माण गरेको भवनको भुइँमा ठाउँठाउँमा भत्किएर ढुंगा, बालुवा निस्केको देखे । त्यसलाई विद्यालयले आन्तरिक रुपमा उचित मर्मत, सम्भार नगरेको देखेपछि उनीहरु साह्रै निराश भएका थिए । ‘यत्ति मर्मत, सम्भारको काम त विद्यालयले गरेको भए पनि हुन्थ्यो नि’, दिक्क मान्दै उनीहरुले भनिरहेका थिए ।
घटना सानो हो, तर विषय ठूलो हो । यसले कुनै पनि काम वा कुरा सुरु गर्नु जति महत्वपूर्ण छ, त्यसलाई निरन्तरता दिनु उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ ।
मानौँ, गाउँमा खानेपानीको योजना सम्पन्न भयो । उचित रेखदेखको कमी भयो भने त्यो बिस्तारै बिग्रिन, भत्किन सुरु गर्छ । व्यवस्थापनको अभावमा केही समयमै त्यो नष्ट भएर सकिन्छ ।
त्यसैले कुनै पनि नयाँ काम हुनु जति महत्वपूर्ण छ, त्यसलाई टिकाइराख्नु त्यतिकै महत्वपूर्ण छ ।
यहाँ जोड्न खोजिएको प्रसंग के हो भने, केही बर्षअघि पालिकाहरुले आफ्ना माताहतका सबै विद्यालयमा बायोमेट्रिक हाजिरी उपकरण दिएका थिए । केही महिना मात्र सञ्चालनमा आएको थियो, कोभिड महामारी सुरु भयो । विद्यालयहरु बन्द भए । बल्लतल्ल खुले पनि एकजनाले छोएको बस्तु अर्काले नछुने नियम सुरु भयो । बायोमेट्रिक हाजिरी मेसिन यसको मारमा प¥यो ।
लामो समय नचलेपछि मेसिनमा खराबी आउन थाल्यो वा सद्दे रहेका मेसिन पनि प्रयोग भएनन् । अहिले प्राय विद्यालयले ती मेसिन थन्क्याएर राखेका छन् ।
शिक्षकहरु नियमित रुपमा यथासमयमा उपस्थित होउन् र यथासमयमा फर्कियुन भन्ने उद्देश्यले राखिएको मेसिन उपयोगविहिन भएपछि पालिकाको त्यो लक्ष्य पनि पूरा हुन पाएको छैन ।
त्यसैले त्यसलाई पुनसंचालनका लागि चासो राख्नु जरुरी छ ।




