| सोमवार, कार्तिक २३, २०८३

गुणस्तरीय एम्बुलेन्स आजको आवश्यकता

जब मान्छेको स्वास्थ्य संकटमा पर्छ अनि पारलौकिक शक्ति सम्झन्छ । अनि यो लोकको अस्पताल, डाक्टर, नर्स, एम्बुलेन्स सम्झन्छ ।

अर्थात एम्बुलेन्स भनेको संकटका बेला अपनाइने साधन हो । संकटका बेला अपनाइने एम्बुलेन्स कति आरामदायी र गुणस्तरीय हुनुपर्छ भन्ने त शव्द व्यक्त गर्नै पर्दैन । यही एम्बुलेन्स र एम्बुलेन्स सेवा गुणस्तरीय नहुँदा कतिपय अबस्थामा बिरामीको बाटोमा नै मृत्यू पनि भएको छ । कतिपय विरामी ‘इन्फेक्शन’का शिकार भएका छन् ।

त्यसैले एम्बुलेन्स गुणस्तरीय हुनुपर्छ । तर गोरखामा गुणस्तरीय एम्बुलेन्स छैन । अझै भन्नुपर्दा गोरखामा एम्बुलेन्स नै छैन । छन् भनिएका ग श्रेणीका एम्बुलेन्सलाई एम्बुलेन्स नै भन्न पाइन्न । यो त बिरामी बोक्न प्रयोग हुने साधन मात्र हो । बल्लतल्ल पालुङटार नगरपालिका ६ गाईखुरको स्वास्थ्यचौकी र नेपाल रेडक्रसको मनकामना उपशाखाले मात्र ख श्रेणीका एम्बुलेन्स प्राप्त गरेका छन् । गाईखुरको स्वास्थ्यचौकीले हालसालै सो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ, मनकामना उपशाखाले भने अब सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

ख श्रेणीको एम्बुलेन्समा स्वास्थ्यकर्मी, अक्सिजन, प्राथमिक उपचारका उपकरण आदि हुन्छन् । साथै यी एम्बुलेन्स आरामदायी पनि हुन्छन् । श्रेणीका दृष्टिले केही महंगो पर्न सक्छ, तर बिरामीलाई आवश्यक पर्ने जस्तो आरामदायी साधन, आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरण हुने हुँदा यो त्यस्ता बिरामीका लागि उपयुक्त हुन्छ ।

मनकामना शाखा र गाईखुर स्वास्थ्यचौकीले यस्तो सेवा दिने भएपछि अब गोरखा सदरमुकामका एम्बुलेन्स सेवा प्रदायक संस्थाले पनि गुणस्तरीय एम्बुलेन्स सेवा दिन सक्नुपर्छ । समय परिवर्तन भइसकेको छ । डोली, स्टूेचरमा बिरामी बोक्ने युगबाट एम्बुलेन्स युगमा प्रवेश गरिसकेपछि अब गुणस्तरीय एम्बुलेन्सको युगमा प्रवेश गर्नु पनि समयको माग हो ।

प्रतिक्रिया दिनुहोस्