| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा रेविज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न

आरुघाट गाउँपालिकामा रेविज खोप तथा बन्ध्याकरण शिविर कार्यक्रम सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप तथा बन्ध्याकरण शिविर संचालन गरिएको गाउँपालिका पशुसेवा शाखाका अधिकृत हरिचन्द्र खनालले बताए ।

शिविरमा पालिका भित्रका वडा नं ४, ५, ७, ८ ९ र १० का स्थानीयहरुले छाडा तथा घरपालुवा कुकुर ल्याएका थिए । मंगलबार विहान सात बजेबाट बेलुका सात बजे सम्म संचालन भएको शिविरमा एक सय ५१ वटा कुकुरलाई रेबिज खोप लगाई बन्ध्याकरण गरिएको उनले बताए ।

रेबिज खोप नलगाउदा स्थानीयहरुमा कुकुरको टोकाईबाट रेबिज फैलिने डर हुने र छाडा कुकुरहरु धेरै हुदा मानिसहरु आउजाउ समेत समस्या हुदै आएको थियो ।

अहिले शिविरबाट रेबिज विरुद्धको खोप लगाएसँगै कुकुरको टोकाइबाट लाग्ने रेबिज रोग नियन्त्रण हुने र रातीको समयमा सुरक्षित रुपमा आउजाउ गर्न सहज भएको उनले बताए । साथै कुकुर बन्ध्याकरण गर्दा कुकुरको बृद्धिदर पनि कम हुने उनको भनाइ छ ।

आरुघाट गाउँपालिका पशुसेवा शाखा र भेटिरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको साझेदारीमा मञ्जु भेटिनरी क्लिनिक काठमाडौबाट आएको ११ जना डाक्टरहरुको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्