| सोमवार, कार्तिक २३, २०८३

रित्तो गाउँमा विकास गर्नु भन्दा पनि बसाइँसराइ रोकौँ

बसाइँ सराइको प्रकृति अहिले अल्लि बदलिएको छ । पहिले विकासका पूर्वाधार खोज्दै गाउँका मान्छे बसाइँ सर्थे, अहिले पूर्वाधार विकास भए पनि बसाइँ सर्छन् । पहिलेको प्रकृति मनासिव नै थियो, तर दोस्रो प्रकृति आडम्बरी हो ।

गाउँमा विकास छैन, त्यसैले मानिसहरू सहर पस्छन् भन्ने मान्यता पुरानो भयो । अचेल त्यस्तो छैन, गाउँमा विकास छ, सरकारी ढुकुटीबाट धमाधम विकासका काम भइरहेका छन् तैपनि मान्छे गाउँमा अडेका छैनन् । यो दुखद पक्ष हो ।

बसाइँ सर्न पाउनु कुनै पनि व्यक्तिको अधिकार हो, यसमा छेकथुन गर्नु कानूनसम्मत हुदैन । तर बल प्रयोग गरेर कसैलाई गाउँमा रोक्ने होइन, गाउँमै बसौँबसौँ लाग्ने वातावरण बनाइयो भने कसैले पनि बसाइँ सर्ने कल्पनै गर्दैन ।

अहिले गाउँमा बिजुली पुगेको छ त्यसैले झिलिमिली पनि छ, सडक पुगेको छ त्यसैले मोटर गाडी पनि चल्छ, खानेपानीका योजनाहरु बनेका छन्, त्यसैले एकघर एकधारा पनि छन् ।

पालिकापिच्छे अस्पताल, वडैपिच्छे स्वास्थ्य चौकी, टोलपिच्छे गाउँघर क्लिनिक वा यस्तै स्वास्थ्य संस्था खुलेका छन् । वडैपिच्छे माध्यमिक तह(कक्षा १२ सम्म) पढ्न पाउने सुविधा छ । तर पनि गाउँमा मानिसहरू किन अडिएका छैनन् ?

यो सन्दर्भ गोरखाको सहिद लखन गाउँपालिका ६ दार्चे फुण्डाँडाको मात्रै होइन, जहाँतहीँको हो । फुण्डाँडामा त बसाइँ सराइले गाउँ रित्तो भइसक्यो, तैपनि विकास निर्माणका पूर्वाधार धमाधम बनिरहेका छन् ।

गाउँमा एकघरको ढोका पनि खुलेको छैन, रित्तो छ, तैपनि अहिले दार्चेको मिलनचोकदेखि फुण्डाँडासम्मको पाँचसय मिटर सडक चौडा बनाउने, खोल्सामा, भीर, पहिरोमा ग्याभिन भर्ने, ग्राभेल बिछ्याउने काम धमाधम भइरहेको छ ।

विकासको विरोध होइन, तर राज्यको ढुकुटी र यस विकासका पूर्वाधारको प्रयोगका बारेमा प्रश्नचिन्ह हो । अब भौतिक विकास भन्दा पनि मान्छेमा बसाइँ सर्ने आडम्बरी मानसिकता परिवर्तन गर्न राज्यको लगानी हुनुपर्छ कि ?

प्रतिक्रिया दिनुहोस्