
तातोपानी मेलाको जुवालाई निरुत्साहित गर
जसै आजका मान्छे समूहमा भन्दा एकान्तमा रमाउन थाल्यो, समूहमा मनोरञ्जन गराउने जात्रा, मेलाहरुको अधोगति सुरु भयो ।
मनोरञ्जनको अत्याधुनिक प्रविधिको विकास भएपछि संस्कृति र परम्परा बोकेका गाउँठाउँका जात्रा मेला धेरै ठाउँबाट विदा भइसके । अहिले जिल्लामा बिगतका तुलनामा एकप्रतिशत भन्दा कम मेला जात्राहरु मात्र जीवित होलान् ।
सयौं बर्षदेखि प्रचलित मेला जात्रा लोप हुनु सुखद विषय पक्कै होइन । जात्रा, मेलामा समाजका बहुआयामिक पक्ष समेटिएका हुन्थे । लोकगीत, लोकनाच, जमघट र भेटघाटले मित्रतामा प्रगाढता, रामरमिता, स्थानीय उत्पादन तथा बजारका सामान खरिद, बिक्री इत्यादि ।
संस्कृति, परम्पराप्रति मोह भएका एकाध नयाँ पुस्ताले यसलाई जोगाउन चाहेर पनि सजिलो छैन । किनभने एकाध नयाँ पुस्ताले चाहेर मात्र हुदैन । धेरैजसो नयाँ पुस्ताले काँध हाले भने मात्रै यसलाई गति दिन सक्छन् । तर वर्तमान परिप्रेक्ष्यमा यो सम्भव देखिएको छैन ।
मनोरञ्जन लिने आधुनिक साधन सिनेमा हल त अहिले अधिकांश बन्द भएका छन्, जात्रा, मेला त अझै परको कुरा हो । नयाँ पुस्ताको ध्यान, मनचित्त विविधतामा छ । विशेषतः मोबाइलको प्रयोगले नयाँ पुस्ता सामुहिकतामा भन्दा एकल हुँदा आनन्द लिने गरेको पाइन्छ ।
जीवित एकाध जात्रा, मेलामध्य तातोपानी मेला एक हो । यो धार्चे गाउँपालिकाको खोर्लावेशीमा हुने गर्छ । अहिले पनि सञ्चालनमा छ । राजनीतिक नेता, समाजसेवी, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा स्थानीय, अस्थानीय सर्वसाधारणको उपस्थितिमा तातोपानी मेला धुमधामले उद्घाटन भयो ।
धुमधामले तातोपानी मेला सञ्चालन हुनु सुखद पक्ष हुँदै हो तर यहाँ यदाकदा दुर्वल पक्ष पनि देखिएको छ । यहाँ खुल्लमखुल्ला जुवा(कौडा) खेल्ने गरिएको छ ।
केही बर्षअघि प्रहरी, प्रशासनले कडाइ गरेर लुकिछिपि खेल्ने अबस्थामा पु¥याएको भए पनि अहिले फेरि धेरै ठूलो रकम हारजित हुने गरी यसले खुल्लमखुल्ला रुप लिएको छ । जुवा(कौडा)लाई निरुत्साहित गर्नु आवश्यक देखिन्छ ।




