| सोमवार, कार्तिक २३, २०८३

लघुवित्त पिडितको गुनासो सम्बोधन गर

‘ग्राहक वैँक होइन, वैँक ग्राहकमा पुग्नुपर्छ’ भन्ने मूल भावना र मर्मसहित देशभर लघुवित्त वित्तीय संस्थाहरु स्थापना भए । ठूला उद्योगी, व्यापारीहरुका लागि मात्र उपयोगी ठूला वैँकहरु सर्वसाधारणका लागि कम उपयोगी भएको सन्दर्भमा लघुवित्तहरु धेरै उपयोगी भए ।

विना कागजी प्रक्रिया, विना सोर्सफोर्स, विना झञ्झट साना उद्योग, व्यवसाय सञ्चालन गर्न चाहने दूरदराजबासीका लागि लघुवित्तहरु सहयोगी सिद्ध भए । त्यति मात्र होइन, गाउँघरमा साहुको मिटर व्याजको ऋणले अर्थतन्त्र तहसनहस भएर घरबार डुबाइरहेको सन्दर्भमा पनि लघुवित्त धेरै राहत बन्न पुग्यो । गाउँमा विशेषगरी महिलाहरुको समूह बनाउने, सुख, दुख गरेर कमाएकोमध्य धेरथोर बचत गर्ने, आवश्यक परेकालाई सामुहिक जमानीमा कर्जा प्रवाह गरेर लघुवित्तले ठूलो सहयोग गरेको थियो ।

तर केही समय यता लघुवित्तप्रति आक्रोश, विरोधका आवाजहरु उठ्न थालेका छन् । यो वा त्यो जिल्ला होइन, यो वा त्यो गाउँ बस्ती होइन, देशव्यापी रुपमा नै लघुवित्तप्रति सर्वसाधारणहरु खनिएका छन् ।

कर्जा लिने, सदुपयोग नगर्ने, अनुत्पादक क्षेत्रमा खर्च गर्ने अनि किस्ता तिर्न नसकेर बेहाल भएको अबस्था जताततै छ । कतिपय ठाउँमा कर्जा तिर्न नसकेर थातथलो छाडेर भागेका घटना पनि छन् । कतिपय ठाउँमा त लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने जस्तो अप्रिय घटना पनि भइरहेका छन् । कुनै लघुवित्तले ऋण नतिर्नेहरुलाई पक्राउ गरी स्थानहद गरेका घटनाहरु पनि छन् ।

कर्जा लिएपछि तिर्नै पर्छ । त्यसको कुनै विकल्प छैन । प्राय ऋण नतिर्ने बद्नियत भन्दा पनि तिर्न चाहँदा चाहँदै पनि तिर्न नसक्ने अबस्था देखिन्छ । लघुवित्त र ग्राहकका बीच विभिन्न प्रकृतिका अप्रिय घटनाहरु दिनप्रतिदिन बढ्दै छन् ।
यस्तो अबस्था किन आयो ? यस्तो समस्यालाई कसरी निदान गर्ने गम्भीरतापूर्वक चिन्तन मनन गर्नुपर्ने अबस्था सबैको सामु छ ।

प्रतिक्रिया दिनुहोस्