
गुप्सीबस्तीको खानेपानी समस्या हल गर
धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा खानेपानीको हाहाकार छ । भुकम्पपछि नयाँ बनेको बस्तीमा स्थानीय सर्न नखोज्नुको एउटा खाने खानेपानी समस्या पनि हो । भुल्मचेतको मुहानबाट पाईपमा ल्याइएको पानी जाडोयाममा सँधै जम्ने र पाईप फुट्ने भएपछि स्थानीयलाई सास्ती भएको छ । यो समस्या वर्षौँदेखि उस्तै छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको पाँच सय ७३ घरधुरी रहेको गुप्सीमा पानी नहुँदा स्थानीयलाई नयाँ घर, नयाँ बस्ती जस्तो महशुस भएको छैन । अहिले सम्म त्यहाँ चार सय घरधुरीमा खानेपानीको पाईप बिछ्याईसकिएको छ । पाईप बिछ्याइएपनि पानी आउँदैन । गुप्सीपाखा हिउँपर्ने ठाउँ हो । अत्याधिक चिसोका कारण फलामे पाईपमा बगेको पानी भित्रै जम्छ । हरेक वर्ष पाँच महिना पानी जमेर स्थानीयले दुःख पाएका छन् ।
एकिकृत बस्तीका धेरै घरमा सर्वसाधारण बस्दैनन् । त्यहाँ होमस्टे वा होटल संचालन गर्ने योजना केही स्थानीयको छ । तर पानी नहुँदा कुनैपनि योजना बनाउन नसकिएको, बेशीबाट स्थानीयलाई गुप्सीपाखामा आउन सहज नभएको गुनासो स्थानीयकै छ । ६ करोड रुपैयाँ खर्चेर बनेको यो योजना निर्माण गर्दामा संभावित समस्याबारे ख्याल गर्नुपथ्र्यो ।
तीन हजार आठ सय मिटर उचाईबाट ल्याइएको पानी ल्याउँदा पाईप फुटेपछि यसको समाधान तर्फ ध्यानदिनुपर्छ । गोरखाका अन्य हिमाली गाउँबस्तीकालागि यो सिकाई हुन सक्छ । पानी नजम्ने पाईप वा बैकल्पि ब्यवस्था गरेर पिउने पानीको जोहो गर्नुपर्छ ।
गण्डकी प्रदेश सरकारले एक घर एक धाराको नारा पुरा गर्ने लक्ष्य राखिरहेका बेला गोरखाको गाउँगाउँमा करोडौँमा बनेका खानेपानी आयोजना अलपत्र हुनु, कतै पानी घोँडामा बोकाउनुपर्ने बाध्यताले सरकारलाई योजनालाई गिज्याईरहेको छ । गुप्सीमा अहिले बैकल्पिक स्रोतबाट पानी ल्याउने योजना सहज हुन सक्छ ।
त्यहाँ सँधै पानी आउने ब्यवस्था गर्ने हो भने अहिले खाली रहेको गुप्सीपाखाको घरहरुमा सर्वसाधारण बस्ने वा कुनै उद्यम सुरु गर्ने मेसो मिल्ने थियो कि । यसतर्फ स्थानीय तहले विषेश पहल लिनुपर्छ ।




