
राष्ट्रिय ढुकुटी सदुपयोग हुने क्षेत्रमा मात्र खर्च गर
भूकम्पपछि उद्धार, राहत, पुनस्थापना र पुनर्लाभका कार्यक्रम कसरी गर्ने भन्ने बिषय यो पुस्ताका लागि नयाँ नै भयो । झण्डै एकसय बर्षमा आइपर्ने(इतिहास विश्लेषण गर्दा) यस्ता विपतका बिषयमा अनुभवी हुने त कुरै भएन, गत १९९० को भूकम्पपछि के कस्ता अभ्यास भए भनेर अध्ययन गर्ने सामग्री पनि नपाइएको अबस्था हो । भूकम्पपछि अरु देशमा के कस्ता अभ्यास भए, कुन अभ्यास उत्कृष्ठ भए, कुन निकृष्ट रहे भनेर अध्ययन, विश्लेषणको पनि कमी नै भयो ।
त्यसको नतिजास्वरुप अहिले कतिपय ठाउँमा गरिएका खर्चहरु व्यर्थ भएका छन् । सवैभन्दा ठूलो उदाहरण त लाप्राकबासीलाई पुनस्थापित गराउन निर्माण भएको गुप्सीबस्ती नै भयो । यहाँ निर्माण भएका ६०२ घरमध्य करिब ७० घरधुरी मात्रै सदपुयोग भएका छन् ।
अरु घर दुरुपयोग भए भन्न खोजिएको होइन, सदुपयोग भएनन् भन्न मात्र खोजिएको हो । ६०२ मध्य ५७३ घरहरु गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेका हुन् । बाँकी २९ घर राष्टिूय पुनर्निर्माण प्राधिकरण(एनआरए)ले निर्माण गरेको हो । घर मात्र होइन, एनआरए, एनआरएनए र विभिन्न गैरसरकारी संस्थाहरुले यहाँ स्वास्थ्यचौकी, विद्यालय, सिँडी, ढल, खानेपानीलगायतका धेरै संरचना बनाएका छन् ।
यसरी हेर्दा यहाँ सरकारी, गैरसरकारी ठूलो परिमाणमा रकम खर्च भएको छ, तर सदुपयोग भएनन् । गुप्सीस्थित विद्यालय, स्वास्थ्यचौकीको उपयोग भएको त छ, तर बसोबास लाप्राकको तल्लो बस्तीमै भएको हुँदा सेवाग्राहीलाई समस्या समेत भएको छ । त्यस्तै एनआरएले केरौंजाका जोखिम घर परिबार पुनस्थापित गर्न लामावेशीमा १३७ घरपरिबारलाई जग्गासहित निजी आवास निर्माण ग¥यो ।
सिँडी, विद्यालय पनि निर्माण ग¥यो, स्वास्थ्य चौकी र खानेपानी आयोजना पनि निर्माणको क्रममा छ तर त्यहाँ पनि करिब ७०, ८० घर मात्र सदुपयोग भएका छन्, अरु भएका छैनन् । यो नमिल्दो परिस्थिति हेर्दा सरकारी, गैरसरकारी लगानीको सदुपयोग हुन नसकेको देखिन्छ । के भएको भए सदुपयोग हुन्थ्यो ? वृहङ्गम रुपमा अध्ययन विश्लेषण गर्नुपर्छ भन्ने देखियो ।




