
बूढीगण्डकी आयोजना निर्माणतिर सबको ध्यान जाओस्
१० बर्षअघि डिपिआर तयार हुँदा बूढीगण्डकी जलविद्युत आयोजना अढाइ खर्ब रुपैयाँ निर्माण सम्पन्न हुने भनिएको थियो । निर्धारित समयमा काम सुरु भएन । त्यसपछि त्यसको लागत पुनः एक खर्ब बढ्ने अनुमान गरियो ।
कुन मोडलमा, कसले बनाउने, लगानी कहाँबाट जुटाउने ? भन्ने अलमलमै एक दशक बित्यो ।
गेजुवा, नेपाल सरकार, गेजुवा, नेपाल सरकार गर्दागर्दै अहिले फेरि केही समयअघि मात्र नेपाल सरकारले बनाउने भनेर मोडालिटी पनि तयार भएको छ । नेपालको गौरवको आयोजना हो, नेपालले नै बनाउनु पर्छ भन्नेमा सहमति जुटेपछि नेपालीपनमा खुशी छाउनु स्वभाविकै भयो ।
त्यसैले बिगत एक दशकदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बूढीगण्डकी आयोजना निर्माणका लागि भनेर थप गरियो । त्यसमा नेपाली जनताले कत्तिपनि आनाकानी गरेका छैनन् । कामको जग पनि नखनी १० बर्ष बितिसक्दा सर्वसाधारण ग्राहकले कत्तिपनि प्रश्न उठाएनन् । खुरुखुरु तिरिरहेका छन् ।
यसरी १० बर्षसम्म राजिखुशीले प्रतिलिटर थप रु १० तिरिरहेका छन् । जसबापत राज्यकोषमा डेढ खर्ब जुटिसकेको छ । अब डेढ खर्ब जुटाउन सक्यो भने, आयोजना बन्न पुग्ने खर्च पुग्नेछ । त्यसका लागि पनि धेरै विकल्पहरु छन् । ती बिकल्पहरुका बारेमा निर्णय गरेर काम सुरु गरिहाल्नुपर्छ । अन्यथा अर्को निर्वाचनमा पनि बूढीगण्डकी निर्माण कार्य तत्काल सुरु गर्नेछु भन्ने घोषणा पत्र बन्नेछ ।
नेपालभन्दा धेरै पिछडिएको मुलुक भनेर चिनिएको इथियोपियाले छ हजार मेगावाटको जलविद्युत आयोजना बनाउन समर्थ भयो । त्यो देशको विकासको गति हाम्रो भन्दा धेरै अगाडि गइसक्यो तर हाम्रो अबस्था ज्यूँका त्यूँ छ । यदि योजना बनाउन र व्यवस्थापन गर्ने दक्ष जनशक्ति यदि खटिएमा बूढीगण्डकी जलविद्युत आयोजना बन्ने छ । अब गफ र भाषण होइन, कार्यान्वयनको चरणमा जानुपर्छ ।




