
आस्था जबर्जस्ती मेटिदैन
भनिन्छ, ‘कुनै पनि कुरा बुझ्न जति गाह्रो हुन्छ, त्यो बुझेको कुरा झुठो रहेछ भनेर महशुस गर्न त्यति नै कठिन हुन्छ ।’ किनभने आस्था भन्ने कुरा सितिमिती मेटाउन नसकिने बलियो हुन्छ ।
जे आफ्नो आँखाले देखिन्छ, त्यो मात्र सही हो, बाँकी अरु अनुमान हुन् भन्ने बर्गमा पनि धेरै नै छन् । यो मान्यताका पनि आफ्नै सबल पक्षहरु होलान् तर यदि त्यो हो भने हाम्रा हजूरबा, हजूरआमा भन्दा अघिका पुस्ता थिएनन् त ?
त्यसैले सबै कुरा सत्य हुन देख्नै पर्छ भन्ने छैन । सुनेका पनि धेरै कुरामा विश्वास गर्नुपर्ने हुन्छ ।
इतिहासको बिषय पनि त्यस्तै हो । के नेपाल सयौं बर्ष अघि पनि यस्तै संरचनामा थियो ? थिएन । कस्तो थियो त ? अब सुनेका कुरामा विश्वास गर्नुपर्ने हुन्छ ।
लिपिको विकास भएपछि त इतिहास लेखियो । जतिबेला लिपि थिएन, कथन त थियो । हजूरबा÷हजूरआमाले बा÷आमालाई सुनाए, बा÷आमाले छोरा÷छोरीलाई सुनाए । यसरी इतिहास लेखियो ।
कहिलेकहीँ हामीले धेरै नै विद्वान भनेर चिनेका नेताहरु पनि लहड(भावना)मा बगेर ‘पृथ्वीनारायण शाह भन्ने व्यक्ति नै थिएनन्, महेन्द्रले काल्पनिक पात्रका बारेमा इतिहास लेखाएका हुन्’ भनेर पनि भाषण गर्ने गर्छन् । नेपालमाथि जति पटक आक्रमण गर्दा पनि जित्न नसकेपछि आक्रोशित भएका अंग्रेजको स्कुलिङमा प्रभावित भएका र फरक मत राख्दा महान महशुस हुने कतिपय पृथ्वीनारायण शाहप्रति रुष्ट छन् । उनीहरुले पृथ्वीजयन्तीलाई थुक्ने दिनका रुपमा मनाउने कुचेष्टा पनि नगरेका होइनन् ।
तर आस्था आस्था नै हो । युद्धका क्रममा भएका कतिपय सानातिना नकारात्मक प्रसंगलाई पैतालामुनि राखेर देश जोगाउने नायक पृथ्वीनारायण शाहप्रति नतमस्तक हुने नै अधिक छन् । भूगोलको मात्र एकीकरण नगरी जातजाति, भाषा, कला, संस्कृतिको पनि एकीकरण गरेर सबैको मनमा न्यानो बास पाउन सफल भए । त्यसैले पृथ्वीनारायण शाहको सालिक ढालेर, उनको अस्तित्व मेटाउन जति मिहिनेत गर्दा पनि उनीप्रतिको श्रद्धा झन बढि नै रह्यो । किनभने आस्था आस्था नै हो ।




