| सोमवार, कार्तिक २३, २०८३

सक्षम ठेकेदार पहिचान गरी ठेक्का दिऔँ

भनिन्छ, ‘कार्यालयले कागजी प्रक्रिया मात्र चिन्छ, मान्छे चिन्दैन ।’ उसले प्राप्त गरेको कागजको खोस्टो नै सम्पूर्णमा ‘उ’ नहुनसक्छ । कागजमा उसको चरित्र र प्रवृत्ति झल्किदैन । त्यसको नतिजास्वरुप धेरै कामहरु बिग्रेका हुन्छन् । त्यसैले कागजी प्रक्रियामात्र होइन, कसैले गरेको कामको इतिहास पनि अध्ययन, विश्लेषण गरी कसलाई के जिम्मेवारी दिने निर्णय गर्ने गर्नुपर्छ ।

गोरखामा काम अलपत्र बनाउने ठेकेदार धेरैछन् । काम गर्न नसक्ने तिनीहरुलाई ‘असक्षम’को संज्ञा दिनुको साँटो कार्यालयहरुले ‘ठेक्का’ दिन्छन् । त्यसको आधार हुन्छ, उही ‘कागज’ ।

नारेश्वरदेखि ताकुकोट सम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम ठेकेदारको असक्षमताका कारण निर्धारित समयमा हुन सकेन । काम सकिन ६ महिना बाँकी रहँदा उक्त सडकको भौतिक प्रगति जम्मा १२ प्रतिशत मात्रै छ ।
२३ करोड ७५ लाख लागतमा सम्पन्न गर्ने गरी अमर÷ज्ञानेश जेभीले २०७८ असार २९ गते पूर्वाधार कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो तर अहिलेसम्म कालोपत्रेको काम सुरु नै गरेको छैन ।

यो मात्र होइन, यस्ता धेरै कामका उदाहरण यहाँ छन् । बारपाक लाप्राक सडक कहिलेसम्म अलपत्र हुने हो, ठेगान छैन । अजुवाखोला पुलको अबस्था उस्तै नाजुक छ । यी केही उदाहरण मात्र हुन् । यस्ता धेरै अलपत्र कामहरुको सूची छन् ।
कतिपय ठेक्कामा सम्बन्धित कार्यालयले भुक्तानी दिन सकेको हुँदैन, तर निर्माण कम्पनीले धमाधम काम गरिरहेको हुन्छ । अनि आर्थिक बर्ष सकिँदासम्म भुक्तानी नपाएर निर्माण कम्पनी संकटमा परेका उदाहरण पनि नभएका होइनन् ।

कतिपय ठेकेदारहरु ठूला नेताको छत्रछायाँमा आफूलाई ‘सो’ गर्ने र त्यसकै प्रभावमा ठेक्का लिने, लिएको काम नगर्ने अनि कार्यालयले ताकेता गरेमा ठूला नेतालाई फोन गराउने ‘हर्कत’ गर्नेहरु पनि छन् । काम नगर्ने ठेकेदारको ‘ढाल’ बनेर फोन गर्ने नेताहरु पनि छन् ।
काम अलपत्र पारेपछि निराश हुनुभन्दा बरु काम गर्न ‘सक्षम’ निर्माण कम्पनी छनौट गरी कामको जिम्मा दिँदा उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्